मेस्सीले नयाँ सिजनको सुरुआत बेन्चबाट सुरु गर्ने

एजेन्सी, भदौ ७
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नयाँ सिजनको सुरुआत बेन्चबाट गर्ने भएका छन् । तीन साताअघि चोटग्रस्त बनेका उनी शतप्रतिशत फिट नभए पनि उनले आइतबार हुने ला लिगाको दोस्रो खेलबाट नयाँ सिजनको सुरुआत गर्दैछन् ।

आफ्नो घर क्याम्प नोउमा हुने रियल बेटिसविरुद्धको सो खेलमा मेस्सी सुरुआती टिममा हुनेछैनन् । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले मेस्सीमाथि कुनै जोखिम नमोल्ने भन्दै उनलाई रियल बेटिसविरुद्धको खेलमा बेन्चमा राख्ने तयारी गरेका छन् ।

चोटबाट मैदान फर्किन लागेका मेस्सीलाई थप चोटको जोखिमबाट जोगाउन भाल्भर्डेले मेस्सीलाई खेलको अन्तिम केही समय खेलाउने तयारी गरेको स्पेनिस मिडियाले जनाएका छन् ।

रिपोर्टअनुसार मेस्सीले मेडिकल टिमबाट ‘अल क्लियरेन्स’ पाइसकेका छैनन् । यसको अर्थ मेस्सी शतप्रशित फिट भइसकेका छैनन् । तर, टोलीका अन्य प्रमुख खेलाडी लुइस स्वारेज र उसामान डेम्बेले पनि घाइते भएकाले यस खेलमा मेस्सीलाई खेलाउन भाल्भर्डेमाथि दबाब छ ।

लिगको पहिलो खेल पनि हारेको र सिजनको पहिलो होम म्याचमा दबाब हुने भएकाले भाल्भर्डेमाथि यो खेल कुनै पनि हालतमा जित्नुपर्ने दबाब छ भने मेस्सीलाई चोटबाट जोगाउनुपर्ने दायित्व पनि छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०३:१४
Loading...