एजेन्सी, भदौ ५
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २००९ देखि २०१८ सम्म स्पेनिस रियल मड्रिडमा रहे । त्यहाँ ९ वर्ष रहँदा रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीबीच चर्को प्रतिस्पर्धा रह्यो ।
उनीहरूबीचको यो प्रतिस्पर्धालाई सम्भवतः फुटबल जगतकै सबैभन्दा पेचिलो प्रतिस्पर्धा मानिन्छ । किनभने, यी दुई खेलाडीले विश्व फुटबलमा पछिल्लो एक दशक एकछत्र राज गरे । उनीहरूका नाममा अपत्यारिला रेकर्ड मात्रै बनेनन्, ठूला उपाधिमा समेत एकछत्र राज गरे ।
मेस्सी बार्सिलोना र रोनाल्डो रियलबाट खेल्दा उनीहरूको कट्टर प्रतिद्वन्द्वीता थियो । किनभने, रियल र बार्सिलोनाको प्रतिस्पर्धा विश्व क्लब फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिन्छ । विश्व फुटबलका दुई सुपरस्टार एकअर्काविरुद्ध खेल्ने भएकाले उनीहरूको प्रतिस्पर्धा, चर्चा र तुलना सधैं केन्द्रमा रह्यो ।
एक वर्षअघि रोनाल्डो रियल छाडेर इटालियन युभेन्टस सरेपछि उनीहरूबीचको सोझो प्रतिस्पर्धा अन्त्य भयो । तर, अझै पनि कुनै न कुनै रूपमै उनीहरूको चर्चा र प्रतिस्पर्धा भने छँदैछ ।
यी दुई खेलाडीका नाममा विश्व फुटबलका समर्थकहरू पनि विभाजित छन् । दुवै खेलाडीका समर्थकरूले आफू समर्थित खेलाडीलाई उत्कृष्ट देखाउन आ–आफ्नै दाबी पेश गर्छन् । जति रोनाल्डो र मेस्सीबीच प्रतिस्पर्धा छ, त्योभन्दा बढी उनीहरूको फ्यानमा छ ।
तर, मैदान र फुटबलको विषयमा रोनाल्डो र मेस्सीबीच जति चर्को प्रतिस्पर्धा भए पनि उनीहरू स्वयंले भने एकअर्कालाई सधैं उच्च सम्मान दिने गर्छन् । जतिबेला रोनाल्डो र मेस्सीले एकअर्काविरुद्ध बोल्छन्, एकले अर्कालाई उच्च सम्मान दर्शाउँछन् । उनीहरू दुवैले आफूहरूबीचको प्रतिस्पर्धालाई फुटबलको प्रतिस्पर्धाका रूपमा मात्रै लिने गर्छन् ।
अघिल्लो वर्ष रोनाल्डो रियल छाडेर इटाली सर्दा मेस्सीले पनि रोनाल्डोको तारिफ गर्दै आफूले उनलाई मिस गर्ने बताएका थिए । उनले भनेका थिए– ‘उनी एक उत्कृष्ट खेलाडी थिए । उनी हुँदा ला लिगामा उच्च प्रतिसपर्धा हुन्थ्यो । अवश्य पनि, म उनलाई सम्झिनेछु ।’
यता, हालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोले पनि मेस्सीबारे बोलेका छन् । उनले मेस्सीसँग आफ्नो सम्बन्धबारे खुलाउँदै मेस्सीसँगको प्रतिस्पर्धाले आफूलाई सधैं राम्रो गर्न र राम्रो बन्न भूमिका खेलेको बताएका छन् ।
‘स्पेनमा छँदा मेस्सीसँगको प्रतिस्र्धा एकदमै सुन्दर थियो । यस्तो प्रतिस्पर्धाले समर्थकहरूलाई फरक मनोरञ्जन दियो भन्ने लाग्छ,’ रोनाल्डोले भनेका छन् ।
रोनाल्डोले मेस्सीसँगको प्रतिस्पर्धाले आफूलाई सधैं राम्रो गर्न भूमिका खेलेको बताए । ‘मेस्सीले मलाई उत्कृष्ट खेलाडी बनाउन परोक्ष रूपमा भूमिका खेले, यस्तो प्रतिस्पर्धा दुवैका लागि फलदायी रह्यो,’ उनले भने ।
रोनाल्डोले मेस्सीसँगको सम्बन्धबारे पनि बोले । ‘मानिसहरू हाम्रा बारेमा के–के कुरा गर्छन् थाहा छैन । तर, उनीसँग मेरो एकदमै सम्मानजनक व्यावसायिक सम्बन्ध छ । यो उनलाई पनि थाहा छ । किनभने, हामीले १५ वर्षदेखि फुटबलको एकैखाले समय गुजार्दै आइरहेका छौं,’ रोनाल्डोले स्पष्ट पारे ।
रोनाल्डोले मेस्सीसँग अहिलेसम्म आफूले कहिल्यै पनि सँगै खाना नखााएको पनि बताए । ‘मेस्सी र मैले हालसम्म कहिल्यै पनि सँगै खाना खाएका छैनौं । तर, भविष्यमा नहुने कुरा छैन । यदि त्यस्तो समय आए मेरा लागि कुनै अप्ठेरो हुनेछैन,’ रोनाल्डोले भने ।
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ०५:२०