बार्सिलोनाले पूर्वप्रशिक्षक सेटिनलाई क्षतिपूर्ति नतिरी कोम्यानले खेल खेलाउन नपाउने

एजेन्सी, असोज १
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले नयाँ सिजनअन्तर्गत घरेलु लिग ला लिगाको पहिलो खेल खेलाउन नपाउने भएका छन् । नयाँ प्रशिक्षकमा उनको अनुबन्धसँग सम्बन्धित केही कागजी प्रक्रिया पूरा भइनसकेकाले बार्सिलोनाले सिजनको पहिलो खेल खेल्दा कोम्यान टेक्निकल लाइनमा हुनेछैनन् ।

यसअघि बार्सिलोनाका दुई खेल कोम्यानले खेलाए पनि ती मैत्रीपूर्ण खेल थिए । तर, अफिसियल खेलमा प्रशिक्षकका रूपमा प्रस्तुत हुन उनले वैधता प्राप्त गरिसकेका छन् । त्यसका लागि केही कागजी प्रक्रिया पूरा हुन बाँकी छ, जो स्पेनिस फुटबल संघसँग सम्बन्धित छ ।

बार्सिालेनाले अघिल्ला प्रशिक्षक क्विके सेटिएनलाई बर्खास्त गरेकाले उनलाई निश्चित क्षतिपूर्ति रकम क्लबले दिनुपर्छ । सो सम्झौताअनुसारै पाउनुपर्ने रकम हो । तर, बार्सिलोनाले सो रकम दिन आनाकानी गरिरहेको स्पेनिस मिडियाले जनाएका छन् । सेटिनले क्लबबाट पाउन बाँकी सबै सुविधा पाइसकेपछि त्यसको जानकारीसहित आफूले क्लब छाडेको पत्र फुटबल संघमा बुझाउनुपर्छ । र, अनि मात्रै संघले बार्सिलोनाले सिफारिस गरेका नयाँ प्रशिक्षकलाई दर्ता गर्छ ।

तर, सेटिनले बार्सिलोनाबाट पाउने रकम नपाएकाले उनले फुटबल संघलाई आफू बार्सिलोनाबाट बाहिरिएको औपचारिक जानकारी दिइसकेका छैनन् । यस्तो अवस्थामा संघले कोम्यानलाई नयाँ प्रशिक्षकका रूपमा काम थाल्न स्वीकृति दिँदैन । जब बार्सिलोना र सेटिनबीच बाँकी रहेको लेनदेन पूरा भएर दुवै पक्षले त्यसको जानकारी संंघमा दिन्छन्, तब मात्रै संघले नयाँ प्रशिक्षकको नियुक्तिलाई मान्यता प्रदान गर्छ । यो नहुँदासम्म कोम्यानले बार्सिलोनाका कुनै पनि औपचारिक खेल खेलाउन पाउँदैनन् ।

स्पेनिस मिडियाका अनुसार सेटिन र बार्सिलोनाबीच बाँकी रहेको लेनदेन केही दिनमै मिल्ने र बार्सिलोनाले कोम्यानको नियुक्तिका लागि संघसँग मान्यता लिनेछ । यसका लागि केही प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले बार्सिलोनाले ला लिागको पहिलो खेल भिल्लारियलसँग खेल्दा कोम्यान टेक्निकल लाइनमा रहन पाउनेछैनन् । सो खेल सेप्टेम्बर २७ तारिखमा हुनेछ । त्यसअघि बार्सिलोनाले एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ११:२६
Loading...