झडपमा उत्रिने खेलाडीमाथि ६ खेलसम्मको प्रतिबन्ध : थप अनुसन्धान सुरु

एजेन्सी, असोज १
खेल दौरान दोहोरो झडपमा उत्रिने फ्रेन्च लिग वान पिएसजी र मार्सेइल्लीका खेलाडीहरूमाथि लिगले कारबाहीको फैसला गरेको छ । गत सोमबार भएको खेलमा मार्सेइल्ली र पिएसजीका खेलाडी इन्जुरी समयमा दोहोरो झडपमा उत्रिएका थिए । पिएसजीको घरमा भएको खेलमा दुवै टोलीका तर्फबाट गरी ५ रातो कार्ड झरेका थिए ।

जसमा पिएसजीका ३ जना र मार्सेइल्लीका २ जनाले रातो कार्ड पाएका थिए । सो खेलमा ५ रातो र १२ पहेंलो कार्ड झरेका थिए । लिगले बुधबार सो खेल दौरान झडपमा सामेल हुने खेलाडीमाथि कारबाहीको फैसाल गरेको हो । जसमा पिएसजीका लेभिन कुर्जवालाई ६ खेलको प्रतिबन्ध लाग्दा मार्सेइल्लीका जोर्डन अमाभाीमाथि ३ खेलको प्रतिबन्ध लागेको छ ।

त्यसैगरी, पिएसजीका नेइमारमाथि २ खेलको प्रतिबन्ध लाग्दा पिएसजीका लियान्द्रो पाराडेसमाथि २ खेलकै प्रतिबन्ध लागेको छ । मार्सेइल्लीका डारियो बेनेडेट्टोमाथि १ खेलको प्रतिबन्ध लागेको छ ।

फ्रेन्च मिडियाका अनुसार पिएसजीका एन्जल डि मारिया र मार्सेइल्लीका अल्भारो गोन्जालेजमाथि लिगले थप अनुसन्धान सुरु गरेको छ । डि मारियाले मार्सेइल्लीका डिफेन्डर गोल्जालेजमाथि थुकेको आरोप लागेको छ भने गोन्जालेजले नेइमारमाथि रंगभेदी गालीगलौज गरेको आरोप लागेको छ । यी दुवै केसमा लिग वानले थप अनुसन्धान थालेको बताइएको छ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०२:५८
Loading...