‘मेस्सीसँग सम्बन्ध बिग्रिएको’ चर्चाबारे बोले कोम्यान

एजेन्सी, भदौ ३१
स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान लिओनल मेस्सीसँग सम्बन्ध बिग्रिएको भन्ने चर्चाबारे आफ्नो धारणा राखेका छन् । बार्सिलोनाले बुधबार प्रि–सिजनमा जिरोनासँग दोस्रो खेल खेल्नुअघि मिडियासँग कुरा गर्दै कोम्यानले यस विषयमा बोलेका हुन् ।

यसअघि मेस्सीले क्लब छाड्ने निर्णय गरेर घरमै बसिरहेका बेला र त्यसपछि उत्पन्न विभिन्न घटनाक्रमबीच कोम्यान र मेस्सीको सम्बन्ध बिग्रन थालेको र नयाँ सिजनमा त्यो अझै बिग्रन सक्ने अड्काल र विश्लेषण विभिन्न खेलपण्डितहरूले गरेका थिए । मिडियाले यस विषयमा विभिन्न रिपोर्टसमेत छापेका थिए । अहिले मेस्सी कोम्यानको नेतृत्वमा प्रशिक्षण गरिरहेका छन् भने यसअघि पहिलो मैत्रीपूर्ण खेल पनि खेलिसकेका छन् ।

जिरोनासँगको खेलअघि प्रशिक्षक कोम्यानसँग पत्रकारले मेस्सीसँगको सम्बन्धको स्थितिबारे जवाफ मागेपछि डच म्यानेजर बोल्न बाध्य भए । सोक्रममा उनले क्लब र मेस्सीबीच असमझदारी रहेको भए पनि मेस्सीसँग आफ्नो कुनै समस्या नरहेको बताए । ‘मेरो विचारमा मेस्सी र क्लबसँग हिजोका दिनमा समस्या थिए । समस्या भएरै मेस्सीले क्लब छाड्न चाहेका थिए । तर, उनले यहीं रहने निर्णय गरिसकेका छन् । र, हामीसँग काम गरिरहेका छन् । मलाई लाग्छ, बाँकी रहेका असमझदारीहरू बिस्तारै हट्दै जानेछन्,’ कोम्यानले भने ।

कोम्यानले मेस्सीसँगको सम्बन्धबारे अघि थपे, ‘मैले विभिन्न मिडियाबाट थाहा पाएँ कि, मेस्सी र मेरो सम्बन्धमा समस्या छ । तर, यो साँचो होइन । उनले क्लब छाड्ने निर्णय लिनुअघि पनि हामीले छलफल गरेका थियौं । अहिले हामी सँगै काम गरिरहेका छौं । टोलीका आगामी योजना र रणनीतिबारे छलफल गरिरहेका छौं । हामीबीचको सम्बन्धमा कुनै समस्या छैन । र, हुने पनि छैन ।’

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १५:३३
Loading...