नयाँ सिजन थाल्नुअघि बार्सिलोनालाई जिदानको ‘रातो बत्ती’ !

एजेन्सी, भदौ ३०
स्पेनिस रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले आफूहरू नयाँ सिजनका लागि तयार रहेको बताएका छन् । घरेलु लिग ला लिगामा पहिलो खेल खेल्न एक साता बाँकी छँदा ‘मार्सा’सँग कुरा गर्दै फ्रेन्च कोचले आफूहरू सधैंझैं नयाँ सिजनमा पनि सबै उपाधि जित्ने लक्ष्यका साथ खेल्ने बताए ।

‘हामी नयाँ सिजनमा होमिन तयार छौं । हामीले पहिलो खेल खेल्न अझै एक साता बाँकी छ । तर, हामी नयाँ सिजनलाई लिएर उत्साहित छौं,’ जिदानले भने, ‘कोरोना भाइरसका कारण फुटबलमा अझै कठिनाइहरू छन् । तर, रियल मड्रिड यी सबै कठिनाइका बीच पनि नयाँ सिजनमा नयाँ लक्ष्य र अठोटका साथ आउनेछ ।’

जिदानले रियलले सधैंझैं यस सिजन पनि सबै उपाधि जित्ने लक्ष्य लिएको र त्यसका लागि लड्ने बताए । ‘हामी मात्रै हैन, सबै टिम सधैं सबै कुरा जित्नकै लागि खेल्छन् । तर, हामी रियल मड्रिड हौं । र, हामी हुनुको अर्थ ठूलो छ,’ जिदानले भने, ‘हामीमाथि सधैं जित्नुपर्ने र च्याम्पियन बन्नुपर्ने दबाब हुन्छ । जब हामी जित्दैनौं वा जित्न छाड्छौं, त्यो सामान्य हुँदैन । किनभने, रियल मड्रिड विश्वको नम्बर वान क्लब हो ।’

बार्सिलोनासँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा जिदानले चलाखीपूर्वक जवाफ दिए । बार्सिलोनालाई आफूले कहिल्यै कमजोर नठानेको बताउँदै उनले यस सिजन पनि रियलले स्पेनमा अन्य टिमलाई उपाधि जित्न नदिने अघिल्लो सिजनकै जस्तो भनाइ दोहोराए । ‘बार्सिलोनासँग विश्वकै एक उत्कृष्ट टिम छ, यस टिमलाई मैले कहिल्यै कमजोर ठानेको छैन । तर, म मेरा खेलाडी र मेरो टिमममा विश्वास गर्छु । मसँग विश्वकै सबैभन्दा ठूलो च्याम्पियन टिम छ,’ जिदानले भने ।

जिदानले अघि थपे, ‘हामी नयाँ सिजनमा स्पेनमा सबै उपाधि जित्न चाहन्छौं । गत वर्ष पनि मैले यही भनेको थिएँ । यसपटक फेरि यही भन्दैछु । अरूले के–के जित्छन् वा जित्दैनन्, त्यसमा मलाई चासो छैन । हाम्रो लक्ष्य यहाँ सबै उपाधि जित्नु हो ।’

जिदानले रियलले यसपटक लगातार दोस्रोपटक ला लिगा जित्ने दाबी गरे । ‘लामो लिगमा जे पनि हुन सक्छ । तर, हामी लगातार दोस्रोपटक ला लिगा जित्नेमा ढुक्क छौं । लिग जित्नु सधैं महत्त्वपूर्ण हुन्छ । मेरो टिम तयार छ,’ जिदानले थपे ।

गत सिजन रियलले बार्सिलोनालाई ५ अंकले पछि पार्दै ला लिगा जितेको थियो । गत सिजन बार्सिलोना उपाधिमा जिरो हुँदा रियलले स्पेनिस सुपर कप र ला लिगा गरी दुई उपाधि जितेको थियो । गत सिजनको कोपा डेल रे फुटबलको फाइनल हुन बाँकी नै छ । गत वर्ष लिग जितेपछि रियलको कूल ला लिगा उपाधि ३४ पुगेको छ भने बार्सिलोनाले २६ पटक मात्रै जितेको छ ।

जिदानले मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिँदा खुसी लागेको बताए । ‘उनले यहीं बस्ने निर्णय लिँदा म खुसी छु । उनीजस्ता खेलाडी हुँदा लिगको महत्त्व मात्रै बढ्दैन, उपाधिका लागि प्रतिस्पर्धा पनि बढ्छ । उनी यहाँ हुनु धेरै कुराले राम्रो हो,’ जिदानले थपे ।

रियल मड्रिडले सेप्टेम्बर २० तारिखमा अवे मैदानमा ला लिगामा रियल सोसिडाडसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । बार्सिलोनाले सिजनको पहिलो खेल सेप्टेम्बर २७ तारिखमा घरेलु मैदानमा भिल्लारियलसँग खेल्दै सिजन थाल्नेछ । त्यसअघि बार्सिलोनाले जम्मा ३ मैत्रीपूर्ण खेल खेल्नेछ भने रियलले कुनै पनि मैत्रीपूर्ण खेल खेल्नेछैन ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १३:५६
Loading...