जर्मन कपमा डर्टमुन्डद्वारा गोलको वर्षा

काठमाडौं, भदौ ३०
नयाँ सिजन २०२०–२१ को जर्मन कप फुटबलमा बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा डर्टमुन्डले डुइजवर्गविरुद्ध ५–० को एकपक्षीय जित दर्ता गरेको हो । डर्टमुन्डको जितमा ५ जना खेलाडीले गोल गरे । डुइजबर्ग खेलको ३८औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

डर्टमुन्डका लागि खेलको १५औं मिनेटमा जाडोन सान्चोले पहिलो गोल गरेका थिए । त्यसपछि ३०औं मिनेटमा युवा मिडफिल्डर जुड बेलिन्घमले गोल गर्दै आफ्नो नाममा पहिलो गोलको दर्ता गराए । उनी यसै समरमा इंग्ल्यान्डको दोस्रो डिभिजनको क्लबबाट डर्टमुन्ड पुगेका थिए ।

त्यसपछि खेलको ३८औं मिनेटमा डुइजबर्गका डोमिनिक भोल्कमरले रातो कार्ड पाए । सोहीक्रममा फरवार्ड अर्लिङ हल्यान्डलाई पेनाल्टी क्षेत्र नजिकै लडाएपछि पाएको पेनाल्टीमा थ्रोगान हाजार्डाले फ्रि किकमार्फत् सुन्दर गोल गरेपछि डर्टमुन्ड खेलमा ३–० ले अघि रह्यो ।

त्यसपछि खेलको ५०औं मिनेटमा डर्टमुन्डका लागि जिओ रेइनाले पनि फ्रि किकमै सोझै गोल गरेर टिमलाई ४–० को अग्रता दिलाए । त्यसपछि टोलीका नियमित कप्तान मार्को रिउसले बेन्चबाट आएर एक मिनेटभित्रै गोल गरेपछि खेल डर्टमुन्डले ५–० ले जित्यो ।

रिउस चोटमुक्त हुँदै यसै खेलबाट मैदान फर्किएका हुन् । उनले यस खेलमा बेन्चबाट मैदान छिरेको पहिलो मिनेटमै पहिलो टचमै गोल गर्न सफल भएका थिए । उनले आफ्नो पुनरागमनलाई सुखद् बनाएका छन् ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०३:५८
Loading...