‘पोर्चुगलले यसपटक पनि नेसन्स लिग जित्छ’

एजेन्सी, भदौ २७
युइएफए नेसन्स लिग फुटबलको पहिलो संस्करणको विजेता पोर्चुगलले लगातार दोस्रोपटक यस प्रतियोगिताको उपाधि जित्ने टोलीका युवा स्टार जुआओ फेलिक्सले बताएका छन् । हालै पोर्चुगलको टोलीबाट क्लब एथ्लेटिको मड्रिड फर्किएपछि फेलिक्सले मिडियासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘स्पोर्ट’सँग कुरा गर्दै युवा स्टार फेलिक्सले पोर्चुगल अहिले निकै राम्रो लयमा रहेको बताउँदै अन्तर्राष्ट्रिय उपाधि जित्न सक्षम रहेको बताए । ‘हामीले दुई खेलमा निकै राम्रो गर्न सक्यौं । हामीले सहज नतिजा मात्रै निकालेनौं, प्रदर्शन पनि राम्रो थियो,’ फेलिक्सले भनेका छन्, ‘टिमको प्रदर्शनबाट म एकदमै खुसी छु । हामी सही दिशामा छौं ।’

फेलिक्सले पोर्चुगल दोस्रोपटक च्याम्पियन बन्ने दाबी गरे । ‘मलाई विश्वास छ– हामी दोस्रोपटक यो उपाधि जित्न गइरहेका छौं । किनभने, हामी राम्रो गरिरहेका छौं । र, उपाधि हाम्रो लक्ष्य हो,’ फेलिक्सले थपे, ‘अझै थुप्रै खेल खेल्न बाँकी छन् । तर, हामी हरेक खेल जित्दै अघि बढ्नेछौं ।’

नेसन्स लिगमा पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई आफ्नो घरमा ४–१ ले हराउँदा फेलिक्सले पनि १ गोल गरेका थिए । उनका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो । पोर्चुगलले दोस्रो खेलमा स्वीडेनलाई उसकै घरमा ०–२ ले हराएको थियो । सो खेलमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १६:१६
Loading...