मेस्सीलाई ला लिगा अध्यक्षले फर्काए यस्तो जवाफ

एजेन्सी, भदौ २३
स्पेनिस घरेलु लिग ला लिगाका अध्यक्ष जाभिएर टेबासले बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई जवाफ फर्काएका छन् । उनले एक अन्तर्वार्तामा कुरा गर्दै मेस्सीसँग आफ्नो व्यक्तिगत र लिगका तर्फबाट कुनै ‘मनमुटाव’ नरहेको बताएका छन् । उनले मेस्सीलाई आफूले सम्मान गर्ने पनि उल्लेख गरेका छन् ।

गत साता मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेर घरमै बसेका बेला टेबासले ला लिगामा तर्फबाट एक विज्ञप्ति निकालेर ‘मेस्सीले फ्रि ट्रान्सफरमा क्लब छाड्न नपाउने र छाड्न पाउने उनको सम्झौताको मान्यता जुन १० मै सकिएको’ बताएका थिए । यदि उनलाई कुनै क्लबले भित्र्याउँछ भने रिलिज क्लज बराबरको ७०० मिलियन नै तिर्नुपर्ने भन्दै ला लिगाले धारणा सार्वजनिक गरेको थियो ।

त्यसको २ दिनपछि मेस्सीका तर्फबाट उनका एजेन्समेत रहेका पिता जोर्गे मेस्सीले एक विज्ञप्ति जारी गर्दै ला लिगाको भनाइको खण्डन मात्रै गरेनन्, मेस्सीको रिलिज क्लजको औचित्य नसकिएको र मेस्सीले निःशुल्क क्लब छाड्ने पाउने जिकिर गरेका थिए । सोही विषयमा बोल्दै अध्यक्ष टेबासले अझै पनि मेस्सीको रिलिज क्लजको आचित्य सम्झौताअनुसार र काुनी रूपमा रहेको बताए ।

‘मेस्सीसँग मेरो व्यक्तिगत वा ला लिगाका तर्फबाट कुनै लडाइँ थिएन । र, छैन । म व्यक्तिगत रूपमा उनलाई सधैं सम्मान गर्छु,’ टेबासले भनेका छन्, ‘ला लिगाले उनलाई एकदमै औपचारिक रूपमा हेर्छ र व्यवहार गर्छ, यसमा कुनै पूर्वाग्रह रहँदैन ।’

टेबासले मेस्सीको रिलिज क्लजको विषयमा भने, ‘क्लबसँग गरेको सम्झौताअनुसार मेस्सीको रिलिज क्लज अझै पनि औचित्यमै छ । यस्तो नियम अरूलाई लाग्ने तर मेस्सी भएकैले उनलाई नलाग्ने भन्ने हुँदैन,’ टेबासले भने, ‘यस्तै अभ्यास हामीले यसअघि पनि गरिसकेका छौं, मेस्सीलाई यो जानकारी होस् ।’

टेबासले मेस्सी ला लिगामा रहँदा लिगको महत्त्व उच्च हुने भए पनि उनी एक खेलाडी मात्रै रहेको बताए । ‘मेस्सी यहाँ रहँदा लिगको महत्त्व र गरिमा उच्च हुन्छ । लिगलाई व्यावसायिक रूपमा फाइदा पुग्छ । तर, उनी क्लब वा लिगभन्दा ठूला होइनन् । हाम्रा दृष्टिमा उनी अन्यजस्तै एक खेलाडी हुन्,’ टेबासले भने, ‘हामी उनलाई नजिक र अरूलाई परको जस्तो व्यवहार गर्न सक्दैनौं ।’

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०७:५३
Loading...