नेसन्स लिगमा आज स्वीडेन र पोर्चुगलको भिडन्त : रोनाल्डो मैदान फर्किंदै

काठमाडौं, भदौ २३
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति साबिक विजेता पोर्चुगलले समूह चरणको दोस्रो खेल स्वीडेनसँग खेल्दै छ । सो खेलका लागि पोर्चुगल अघिल्लो दिन नै स्वीडेन उत्रिसकेको छ । खेल नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

उत्कृष्ट लयमा रहेको पोर्चुगलले यसअघि आफ्ना प्रमुख खेलाडी तथा नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिनै क्रोएसियालाई ४–१ ले हराएको थियो । रोनाल्डो सो खेलमा चोटका कारण खेलेका थिएनन् । तर, आज दोस्रो खेलमा स्वीडेनविरुद्ध उत्रिँदा रोनाल्डो पूर्ण रूपमा फिट भएर मैदान उत्रिँदैछन् ।

लामो समयपछि अन्तर्राष्ट्रिय खेल फर्किंदा रोनाल्डो आज राति यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेर इतिहास रच्ने दाउमा छन् । उनले यसअघि पोर्चुगलका लागि ९९ गोल गरिसकेका छन् । आज राति मात्रै १ गोल गरे ३५ वर्षका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल गर्ने पहिलो सक्रिय खेलाडी बन्नेछन् भने समग्रमा दोस्रो ।

समूह ३ मा रहेको पोर्चुगल हाल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ । ३ अंक नै भएको फ्रान्स दोस्रो स्थानमा छ । आज स्वीडेनलाई उसकै घरमा हराउन सके पोर्चुगलले समूह विजेता बन्ने होड कायमै राख्नेछ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०५:११
Loading...