दुर्लभ रेकर्ड नजिक रोनाल्डो : १०० अन्तर्राष्ट्रिय गोलको पर्खाइ

काठमाडौं, भदौ २२
युइएफए नेसन्स लिग फुटबलको दोस्रो संस्करण सुरु हुँदै गर्दा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो निकै उत्साहित थिए । किनभने, उनी प्रतियोगिताको पहिलो खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेर इतिहास रच्न चाहन्थे । तर, क्रोएसियाविरुद्ध आफ्नै देशमा भएको पहिलो खेल उनले चोटका कारण खेल्न सकेनन् । खुट्टाको औंलामा संक्रमण देखिएपछि ३५ वर्षीय रोनाल्डोलाई प्रशिक्षक फर्नान्डो सान्तोषले खेलाएनन् ।

खेलपछि सान्तोषले रोनाल्डो क्रोएसियाविरुद्ध खेल्न तयार रहे पनि नयाँ सिजनको मुखमा थप जोखिम बढ्न नदिन आफूले नै सम्झाएर खेल्न नदिएको बताएका थिए । पहिलो खेल खेल्न नसकेपछि रोनाल्डोको १०० गोलको प्रतीक्षा ३ दिनपछि लम्बियो ।

भोलि (मंगलबार राति) पोर्चुगलले दोस्रो खेल स्वीडेनसँग उसकै भूमिमा खेल्दैछ । पोर्चुगिज टोली स्वीडेन पुगिसकेको छ । सो खेलमा कप्तान रोनाल्डो ठीकठाक खेल्ने करिब पक्का छ । क्रोएसियाविरुद्धको खेलपछि प्रशिक्षक सान्तोषले रोनाल्डो स्वीडेनविरुद्ध खेल्ने बताएका थिए ।

भोलि स्वीडनेविरुद्ध उत्रिँदा रोनाल्डोसँग १०० अन्तर्राष्ट्रिय गोलको लक्ष्य हुनेछ । उनले सो खेलमा मात्रै १ गोल गरे उनी फुटबल इतिहासमा १०० गोल गर्ने पहिलो र एक मात्रै सक्रिय खेलाडी बन्नेछन् भने समग्रमा दोस्रो । फुटबल इतिहासमा हालसम्म अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलको रेकर्ड इरानका अली डेइका नाममा छ । उनले कूल १०९ गोल गरेका छन् । तर, उनी सन्यास लिइसकेका खेलाडी हुन् ।

हाल अन्तर्राष्ट्रिय फुटबलमा खेलिरहेका खेलाडीमधये सबैभन्दा बढी गोल रोनाल्डोकै नाममा ९९ गोल छ । त्यसपछि भारतका कप्तान सुनील क्षेत्रीका नाममा ७२ गोल छ । १०० गोल गर्ने सक्रिय खेलाडी बन्न रोनाल्डोलाई अब १ गोल चाहिन्छ भने अली डेईको १०९ गोलको रेकर्ड भंग गरेर फुटबल इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्न उनलाई मात्रै १० गोल आवश्यक छ ।

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले हालसम्म राष्ट्रिय टिमका लागि ९९ गोल गरेका छन् । सोक्रममा उनले कूल १६४ खेल खेलेका छन् । उनका ९९ गोलमध्ये ८२ गोल अफिसियल प्रतियोतिगामा गरेका छन् १७ गोल मैत्रीपूर्ण खेलमा गरेका गोल छन् । रोनाल्डो हालकै अवस्थामा पनि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै अफिसियल गोलकर्तामा रेकर्ड होल्डर खेलाडी हुन् । उनको जति अफिसियल गोल अन्य कुनै खेलाडीले गरेका छैनन् ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ११:०१
Loading...