रोनाल्डोको चोटबारे प्रशिक्षकद्वारा जानकारी

काठमाडौं, भदौ २१
पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले आफ्ना कप्तान तथा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको चोटको विषयमा जानकारी गराएका छन् । युइएफए नेसन्स लिगमा गत राति पोर्चुगलले पहिलो खेल क्रोएसियाविरुद्ध खेल्दा रोनाल्डोले चोटका कारण सो खेल गुमाएको खबर सार्वजनिक भएको थियो ।

३५ वर्षीय रोनाल्डोको प्रशिक्षण दौरान खुट्टाको औंलामा सामान्य चोट परेकाले उनलाई सो खेलमा नखेलाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका थिए । तर, प्रशिक्षक सान्तोषले भने रोनाल्डो घाइते नभएको स्पष्ट पारेका छन् । रोनाल्डोको खुट्टाको औंलामा थोरै संक्रमण देखिएकाले उनलाई थप जोखिमबाट बचाउन क्रोएसियाविरुद्ध नखेलाको बता ।

‘मैले केही पत्रपत्रिकामार्फ्त रोनाल्डो घाइते भएर क्रोएसियाविरुद्ध खेल्न नसकेको भन्ने समामार पढें । तर, यो साँचो होइन । रोनाल्डो घाइते छैनन्, उनी एकदमै ठीक छन् । र, उनले नियमित प्रशिक्षण गरिरहेका छन् । उनको औंलामा सानो संक्रमण देखिएकाले थप जोखिम नहोस् भनेर उनलाई यस खेलमा आराम दिइएको हो,’ सान्तोषले भने ।

सान्तोषले रोनाल्डो सधैं खेल्न र टिमलाई सघाउने तयार रहेको भन्दै आगामी खेलमा उनी ठीकठाक मैदान उत्रिने बताए । ‘क्रिस्टियानो सधैं खेल्न र टिमलाई सघाउन तयार छन् । यस खेलमा पनि उनी खेल्न चाहन्थे । तर, मेले उनलाई सम्झाएँ । उनी अर्को खेलमा ठीकठाक मैदानमा हुनेछन्,’ सान्तोषले भने ।

गत राति रोनाल्डोबिनाको पोर्चुगलले क्रोएसियालाई ४–१ को फराकिलो अन्तरले हरायो । रोनाल्डो नभए पनि उनको अभाव गत राति देखिएन । पोर्चुगलले ३ दिनपछि दोस्रो खेल स्वीडेनसँग खेल्दैछ, अवे मैदानमा । रोनाल्डो सो खेलमा टोलीमा उपलब्ध हुनेछन् ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०६:०६
Loading...