नेसन्स लिगमा वेल्सको विजयी सुरुआत : स्वीट्जरल्यान्ड युक्रेनसँग स्तब्ध

काठमाडौं, भदौ १९
युइएफए नेसन्स लिग फुटबलमा ग्यारेथ बेलको टोली वेल्सले विजयी सुरुआत गरेको छ । गत राति भएको पहिलो खेलमा वेल्सले फिनल्यान्डलाई उसैको घरमा ०–१ ले हरायो । समूह ‘एच’ मा रहेको वेल्सलाई अवे मैदानमा जिताउन १ मात्रै विजयी गोल किफर मोरेले खेलको ८०औं मिनेटमा गरेका थिए ।

त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । टोलीका प्रमुख खेलाडी बेललाई दोस्रो हाफको सुरुआतमै सब्सिच्युट गरिएको थियो । उनको स्थानमा ह्यारी विल्सनलाई मैदान छिराइएको थियो । फिनल्यान्डको घरमा चर्को दबाबमा परेर खेलको वेल्सका लागि ८०औं मिनेटमा मोरेले ड्यानिएल जेम्सको असिस्टमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

अब आफ्नो समूहमा स्पष्ट ३ अंक जोड्ने टोली वेल्स मात्रै बनेको छ । ऊ ३ अंकसहित समूहको शीर्ष स्थानमा छ । पराजित फिनल्यान्ड सबैभन्दा पुछारमा छ । बुल्गेरिया र आइरल्यान्ड १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

गत राति नै भएका अन्य खेलमा बलियो टोली स्वीट्जरल्यान्डलाई युक्रेनले आफ्नो भूमिमा २–१ ले हरायो । रसियाले आफ्नो भूमिमा सर्बियालाई ३–१ ले हराउँदा हंगेरीले टर्कीलाई उसैको घरमा ०–१ ले हरायो । स्लोभेनिया र ग्रीसले ०–० को बराबरी खेल्दा माल्डोभा र कोसोभोले पनि १–१ को बराबरी खेले ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०२:१८
Loading...