कोएमानको अध्याय सुरू : मेस्सीबिनै बार्सिलोनाले थाल्यो प्रशिक्षण

काठमाडौं, भदौ १६
स्पेनिस फुटबल क्लब बार्सिलोनाले टोलीका प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीबिनै प्रशिक्षण थालेको छ । क्लब छाड्ने निर्णय गरेर घरमै बसिरहेका मेस्सीले प्रि–सिजनअन्तर्गत क्लबका कुनै पनि गतिविधि तथा कार्यक्रममा सहभागी नभएपछि उपलब्ध सिनियर टोलीका थोरै मात्र खेलाडीले सामूहिक प्रशिक्षण थालेका छन् । युरोपियन देशका केही खेलाडी भने राष्ट्रिय ड्युटीमा गएका छन् ।

बार्सिलोनाले पूर्वनिर्धारित तालिकाअनुसार सोमबारबाट नै सामूहिक प्रशिक्षण थालेको हो । त्यसअघि बिदा मनाएर क्लब फर्किएका सबै खेलाडीको नियमित स्वास्थ्य तथा कोरोना जाँच गरिएको थियो । तर, अर्जेन्टिनी खेलाडी मेस्सी भने यी कुनै पनि प्रक्रियामा सामेल भएनन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोएमानको नेतृत्वमा बार्सिलोनाले नयाँ सिजन २०२०–२१ को प्रशिक्षण थाल्दा मेस्सी अनुपस्थिति भएपछि उनले क्लब छाड्ने झन् स्पष्ट भएको छ । क्लबलाई औपचारिक जानकारी नगराई क्लबको कार्यक्रममा सहभागी नभएपछि क्लबले मेस्सीमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको खबर सार्वजनिक भएका छन् ।

अघिल्ला प्रशिक्षक क्विके सेटिएनलाई बर्खास्त गरेर डच म्यानेजरलाई नयाँ प्रशिक्षक बनाउँदै गर्दा क्लब भने नयाँ समस्यामा फसेको छ । नयाँ सिजनको मुखमा मेस्सीले क्लब छाड्ने भएपछि बार्सलोना ठूलो समस्यामा फसेको हो । अब क्लबलाई नयाँ सिजन कसरी थाल्ने भन्ने योजना बनाउन कठिन छ भने क्लब सञ्चालन बोर्डमा विभिन्न समस्या देखिएका छन् ।

क्लबमा रहेका उमेर ढल्केका खेलाडीलाई बिदा गर्ने तयारी चलिरहँदा नयाँ खेलाडी भित्र्याउने विषयले प्राथमिकतामा पनि पाएको देखिँदैन । बार्सिलोनाले नयाँ प्रशिक्षकको योजनामा केही प्रमुख खेलाडी भित्र्याउन चाहेको छ । तर, मेस्सीको विषय नसल्टिँदा बाँकी सबै योजनाले प्राथमिकता पाउन सकेका छैनन् ।

भर्खरै सकिएको सिजन बार्सिलोना उपाधिमा निल भएको थियो । १३ वर्षपछि उपाधिमा जिरो बनेपछिको अर्को सिजनको सुरुआत पनि क्याटलान क्लबका लागि सहज हुने देखिँदैन । यदि अन्तिम समयमा मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएर बार्सिलोनामै रहे त्यसबेला टोली सम्हालिएर अघि बढ्नेछ । तर, मेस्सीले वास्वतमै क्लब छाडेर गए बार्सिलोनालाई आगामी केही सिजन झनै कठिन हुने पक्का छ ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ०९:५७
Loading...