no-image

काठमाडौं, भदौ २
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवी लामिछानेलगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने चितवनका प्रमुख राजनीतिक दलहरू एक हुने भएका छन् । पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरूले आमजनसमुदायमा अनुरोध गरेका छन् ।

गत साउन २० गते भरतपुरको कंगारु होटलमा मृत फेला परेका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले साउन ३० गते न्युज २४ का पत्रकार रवी लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

रवी लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनक्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको हो ।

सिडियो जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहींकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल गरेको छ । बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशीसमेत सहभागी थिए । बैठकमा चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ बसेको सर्वपक्षीय बैठकले पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । बैठकपछि जारी अपिलमा भनिएको छ, ‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्ने ।’

हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहित ३ जनाको सम्बन्धमा स्वच्छ र निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नलाग्नसमेत सर्वपक्षीय बैठकले अपिल गरेको छ ।

हेर्नुहोस विज्ञप्ति :

प्रकाशित मिति २ भाद्र २०७६, सोमबार ०५:३०
Loading...