नेइमारका लागि बार्सिलोना र रियल दुवैको प्रस्ताव पिएसजीद्वारा अस्वीकार

एजेन्सी, साउन ३०
यतिबेला सरुवा चर्चाको शिखरमा रहेका ब्राजिलियन स्टार नेइमार नयाँ सिजनमा कुन क्लबबाट खेल्छन् भन्नेमा अझै स्पष्ट संकेत देखिएको छैन । उनलाई भित्र्याउन पूर्वक्लब बार्सिलोना र रियल मड्रिड लागे पनि ठोस सहमति बन्न सकेको छैन ।

ताजा रिपोर्टअनुसार फ्रेन्च क्लब पिएसजीले आफ्ना खेलाडी नेइमारका लागि बार्सिलोना र रियलले राखेका दुवै प्रस्ताव अस्वीकार गरिदिएको छ । बार्सिलोनाले पूर्वस्टार खेलाडी नेइमारलाई पुनः क्याम्प नोउ भित्र्याउन ब्राजिलियन स्टार फिलिपे कोउटिन्होसहित १०० मिलियन युरोको प्रस्ताव गरेको थियो ।

यसअघि बार्सिलोना कोउटिन्हो र क्रोएसियन इभान राकिटिकसहित १०० मिलियन दिन तयार देखिए पनि अन्तिम सममा आएर उसले राकिटिक नदिने भएपछि पिएसजी बार्सिलोनाको प्रस्तावबाट पछि हटेको हो ।

अर्को क्लब रियलले भने हालै लोन अवधि सकाएर जर्मन क्ल बार्यन म्युनिखबाट रियल फर्किएका कोलम्बियन स्टार हामेस रोड्रिग्वेज दिएर केही रकम थप्न प्रस्ताव गरेको थियो । तर, पिएसजीले त्यसलाई पनि अस्वीकार गरेको रिपोर्टमा उल्लेख छ । यो बताइन्छ कि, पिएसजी बार्सिलोनाभन्दा नेइमारलाई रियल मड्रिड पठाउन बढी इच्छुक देखिन्छ ।

प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार ०३:३२
Loading...