एजेन्सी, साउन २०
स्पेनको क्लब बार्सिलोनाका कप्तानसमेत रहेका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले बाचा गरेका छन् कि– नयाँ सिजन बार्सिलोनालाई सबै उपाधि जिताउन उनी प्रतिबद्ध छन् । अघिल्लो दिन आफ्नो घरमा भएको ग्याप्पर ट्रफी उपाधिका लागि इंग्ल्यान्डको टिम आर्सनलसँग खेलअघि घरेलु दर्शकसामु मन्तव्य राख्दै मेस्सीले यस्तो बाचा गरेका हुन् ।
सोक्रममा मेस्सीले गत सिजनका निराशा भुलेर आफूहरू नयाँ सिजनमा सबै उपाधि जित्न तयार रहेको बताए । गत सिजनका हार र नतिजा पाडीदायी भए पनि बार्सिलोना नयाँ सिजनमा नयाँ ढंगले अघि बढ्ने मेस्सीको भनाइ थियो ।
‘गएको सिजनमा के भयो, त्यो सम्झेर मलाई पछुतो छैन । हामी नयाँ सिजनका लागि तयार छौं । यसपटक सबै उपाधि जित्न क्लब तयार छ । खेलाडी तयार छन्,’ मेस्सीले भने ।
मेस्सीले पछिल्ला ११ सिजन बार्सिलोनाले ८ ला लिगा जितेको भन्दै यो उपलब्धि पनि सामान्य नरहेको बताए । ‘हामीले च्याम्पियन्स लिग जित्न नसक्दा ११ वर्षमा ८ पटक ला लिगा जितेको कुरा धेरै महत्त्वपूर्ण नलाग्न सक्छ । तर, यो निकै महत्त्वपूर्ण छ,’ मेस्सीले थपे ।
प्रकाशित मिति २० श्रावण २०७६, सोमबार ०५:२८