च्याम्पियन्स लिग र रियल मड्रिडसँगको खेलबारे यसो भन्छन् ग्वार्डिओला

एजेन्सी, माघ २९
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफूले यो सिजन कुनै पनि हालतमा युरोपियन च्याम्पियन्स लिग जित्न चाहेको बताएका छन् । उनले प्रिमियर लिग हातबाट फुत्किसकेको अवस्थामा अर्को ठूलो प्रततियोगिता जित्नैपर्ने दबाब आफूहरूमा रहेको बताएका हुन् ।

हालै एक अन्तर्वार्तामा बोल्दै पेपले यो सिजनलाई खराब बन्नबाट जोगाउन आफू र टिमले च्याम्पियन्स लिग कुनै पनि हालतमा जित्न चाहेको बताए । ‘प्रिमियर लिग जित्न हाम्रा लागि अब असम्भव छ । र, हामीसँग अहिले च्याम्पियन्स लिग मात्रै ठूलो प्रतियोगिता बाँकी छ । यो सिजनलाई खराब बन्नबाट जोगाउन हामीले यो प्रतियोगिता जित्नैपर्छ । म व्यक्तिगत रूपमा पनि सिटीका ागि यो उपाधि जित्न चाहन्छु,’ पेपले भने ।

पेपले अन्तिम १६ मा रियल मड्रिडजस्तो च्याम्पियन्स सर्वाधिक सफल र अनुभवी टोलीसँग खेल्नुपर्ने भएकाले चुनौतीपूर्ण रहेको बताए । ‘उनीहरू च्याम्पियन्स लिगका सर्वाधिक सफल र अनुभवी टिम हुन् । मलाई थाहा छ, हाम्रा लागि उनीहरू ज्यादै कठिन प्रतिस्पर्धी हुन् । तर, हामी रियलविरुद्ध एक उत्कृष्ट खेल खेल्न चाहन्छौं,’ पेपले भने, ‘यदि हामी रियललाई हराएर अघि बढ्यौं भने फाइनल पुग्नेछौं ।’

प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०६:१०
Loading...