इमानदार चालक : ट्याक्सीमा छुटेको लगेज फिर्ता दिँदा पाए सुनको सिक्री उपहार !

काठमाडौं, माघ २७
अहिलेको जमानामा पनि कसैले सुनचाँदी भएको लाखौं मूल्य बराबरको सम्पत्तिसहितको झोला भेटेर फिर्ता दिन्छ भन्दा पत्याउन मुस्किल पर्छ । तर, हालै यस्तै भएको छ । आज (सोमबार) दिउँसो साढे १ बजे लक्की रिजाल नामकी महिला लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन् । ठाउँमा पुगेपछि उनी हतार–हतार ट्याक्सीबाट ओर्लिइन् । तर, हतारमा आफ्नो ‘लगेज’ ट्याक्सीमै छुट्यो ।

केहीबेरपछि मात्रै आफ्नो सामान छुटेको उनलाई पत्तो भयो । यता, चालकले पनि ती महिलाले सामान छाडेको तत्कालै थाहा पाएनन् । यात्रु महिलालाई आफू चढेको ट्याक्सीको नम्बर पनि थाहा भएन । सामान छुटेको थाहा पाएपछि महिलाले करिब साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन् । त्यसपछि उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी अघि बढायो । त्यसैबला ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ मा एक फोन आयो ।

क्या बात ! त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए, जसको गाडीमा महिलाको सामान छुटेको थियो । बा२ ज ४०७१ नम्बरको ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका–४ का चालक नवीन सिग्देलले प्रहरीमा फोन गरेर एक यात्रुको सामान आफ्नो ट्याक्सीमा छुटेको जानकारी दिए ।

तत्कालै ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेको लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो । रिजाललाई पनि सम्पर्क गरी महाशाखा बोलाया । अनि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज ती महिलालाई हस्तान्तरण गरे ।

प्रहरीका अनुसार यात्रु महिलाको लगेजमा एकदमै महत्वपूर्ण सामान थिए । सो झोलामा सुन मात्रै १३ तोला थियो । त्यस्तै, ल्यापटप, मोबाइल र महत्त्वपूर्ण मेडिकल कागजपत्र थिए । प्रहरीका अनुसार लगेजमा अन्दाजी १० लाख बराबरीको सम्पत्ति थियो । सो लगेज हस्तान्तरणपछि ती इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालक सिग्देललाई दिए । अन्तिममा महिलाले आफ्नो सम्पत्ति ठीकठाक पाइन् भने इमानदार चालकले पनि पुरस्कार पाए ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १५:३५
Loading...