‘यो सिजन बार्सिलोना उपाधिमा नील हुन सक्छ’

एजेन्सी, माघ २७
स्पेनिस क्लब बार्सिलोनाले जारी सिजन दुई प्रतियोगिता हारिसकेको छ । ऊ स्पेनिस सुपर कपको सेमिफाइनलबाटै आउट भयो भने कोपा डेल रे कपमा क्वार्टरफाइनलबाटै आउट भयो । हालको अवस्थामा बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा छ भने ला लिगाको दोस्रो स्थानमा छ । यस हिसाबले हेर्दा बार्सिलोना अझै पनि सिनजका दुई प्रमुख उपाधि जित्ने होडमा ठीकठाक छ ।

तर, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले यसपटक बार्सिलोना उपाधिमा नील हुने खतता आफूले देखेको बताएका छन् । उनले च्याम्पियन्स लिगमा बार्सिलोनाको अवस्थाबारे आफूले अनुमान लगाउन नसक्ने भन्दै ला लिगामा उसको अवस्था कमजोर रहेको बताए । ‘इमानदारीसाथ भन्दा बार्सिलोना अहिले जुन अवस्थाबाट अघि बढिरहेको छ, त्यो निकै कमजोर हो । उनीहरूले दुई प्रतियोगिता गुमाइसके,’ रिभाल्डोले भनेका छन्, ‘उनीहरूका हातमा अझै दुई प्रतियोगिता छन् तर ती झन् चुनौतीपूर्ण छन् ।’

रिभाल्डोले टोलीका कप्तान लिओनल मेस्सी सिजनको सुरुमा घाइते हुनु, टिमको रक्षापंक्तिमा सुधार नआउनु र प्रशिक्षक परिवर्तन हुँदा टिम थप अलमलमा परेको बताए । ‘पहिलो कुरा मेस्सी अहिले आफ्नो स्तरमा छैनन् । सिजनको सुरुआतमा उनले चोट बोक्नु यसको प्रमुख कारण थियो,’ रिभाल्डोले भने, ‘टिमको रक्षापंक्ति झन् खस्किँदै जानु र बीच सिजनमा प्रशिक्षक परिवर्तन हुँदा टिमको प्रदर्शन र नतिजामा उचारचढाव छ ।’

रिभाल्डोले हालकै अवस्थामा बार्सिलोनाले यो सिजन ला लिगा जित्न नसक्ने पनि बताए । ‘खेलाडी र प्रशिक्षकलाई यो कुरा थाहा छ– उनीहरू अहिले राम्रो अवस्थामा छैनन् । मलाई लाग्दैन, उनीहरू यसपटक ला लिगा जित्न सक्छन्,’ रिभाल्डोले भने, ‘च्याम्पियन्स लिगबारे म अनुमान लगाउन सक्दिनँ ।’

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १२:४३
Loading...