कोपा डेल रे : आज बार्सिलोनालाई उसकै घरमा हराउने लेगानेसको दाउ !

काठमाडौं, माघ १६
स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ, जहाँ बार्सिलोना र लेगानेस आमनेसामने हुँदैछन् । हाल लिगको १२औं स्थानमा रहेको लेगानेस आज ला लिगाको दोस्रो स्थानको बार्सिलोनाविरुद्ध उसकै घरेलु मैदानमा उत्रिँदैछ ।

बार्सिलोना यसअघि ला लिगामा भ्यालेन्सियासँग अवे मैदानको २–० को हारको आलो पीडामा रहेका बेला लेगानेस आज उसलाई अर्को हारको झट्का दिने योजनासाथ क्याम्प नोउमा उत्रिँदैछ । खेल राति ११ः४५ बजे (नेपाली समय) बाट सुरु हुनेछ ।

अन्तिम १६ मा एक मात्रै खेल हुने भएकाले बार्सिलोना र लेगानेस दुवै आज एकअर्कालाई हराएर अन्तिम आठमा प्रवेश गर्ने दाउमा छन् । उपाधिको एक प्रमुख दाबेदार टिम बार्सिलोना आजको खेल आफ्नो घरमा खेल्न लागेकाले ऊमाथि आज चर्को दबाब हुनेछ । आफ्नो घरमा हुने यो खेलमा आज बार्सिलोनाको पहिलो रोजाइको सेट उत्रिने सम्भावना छ ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०५:०३
Loading...