साँखुबाट महादेवको ४०० वर्ष पुरानो मूर्ति चोरियो

साँखु, माघ १४
शंखरापुर नगरपालिकाको साँखुबाट करिब ४०० वर्षभन्दा पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । सो मूर्ति साल्खा महादेवस्थानको नामले पनि चिनिन्थ्यो । मूर्ति सुनको जलप लगाएको थियो । तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गत चोरी भएको प्रहरीले जनाएको छ ।

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति घरबाट मधयरातमा चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले बताए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राखिँदै आएको थियो । मूर्ति चोरी भएपछि तत्कालै प्रहरीमा खबर गरिएको थियो ।

यता, पूजारीको घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको प्रहरीको आशंका छ । प्रहरीले चोरी भएको मूर्ति खोज्न प्रहरी खटाइसकेको महानगरीय प्रहरी प्रभाग साँखुले बताएको छ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०४:४२
Loading...