‘अर्थहीन पास खेलेको’ भन्दै बार्सिलोना प्रशिक्षक खेलाडीसँगै रिसाएपछि …….

एजेन्सी, माघ १४
स्पेनिस बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना खेलाडीले चाहिनेभन्दा बढी पास खेलेको भन्दै खेल्ने शैलीमा असन्तुष्टि जनाएका छन् । केही दिनअघि ला लिगामा अवे मैदानमा भ्यालेन्सियासँग २–० ले हारेपछि प्रशिक्षक आफ्ना खेलाडीको प्रदर्शनलाई लिएर खुसी छैनन् ।

स्पेनिस मिडियासँग कुरा गर्दै उनले आफ्ना खेलाडीले खेलमा अनावश्यक बढी पास खेल्ने गर्नाले समयमै गोल हुन नसकेको र विपक्षीले दबाब बनाएको बताए । ‘भ्यालेन्सियासँग हामी हार्नुका केही खास कारण छन् । तीमध्ये अनावश्यक धेरै पास खेल्नु एउटा हो । यस खेलमा यस्तै भयो,’ सेटिनले भने, ‘हामीले बढी पास खेल्यौं, गोल उनीहरूले गरे । हामीले त्यो खेलमा ४ गोलसम्म खान सक्थ्यौं ।’

सेटिनले खेलमा बल आफ्नो पक्षमा राखेर मात्रै नहुने भन्दै सही समयमा आक्रमण पनि गर्नुपर्ने बताए । ‘यदि तपाई बल आफ्नो पक्षमा राख्न प्रयास गर्नुहुन्छ तर आक्रमण बुन्न सक्नुहुन्न भने विपक्षीले ठाउँ पाउँछन्,’ सेटिनले भने, ‘अहिले हामीकहाँ त्यही भइरहेको छ ।’

सेटिनले अघि थपे, ‘हामीले ग्रानाडाविरुद्ध १ हजार पास खेल्यौं तर १ गोल गर्न हामीलाई ठूलो संघर्ष गर्नु परेको थियो । भ्यालेन्सियासँग पनि हामीले ८०० पास खेल्यौं तर हामीले २ गोल खायौं,’ सेटिनले भने, ‘मलाई लागछ, अब हामीले खेल्ने शैलीमा केही परिवर्तन ल्याउनुपर्छ ।’

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०४:४०
Loading...