बार्सिलोनाका प्रशिक्षकले खेलाडीलाई भने– ‘अवे मैदानमा नडराई खेल्नू’

एजेन्सी, माघ ११
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना खेलाडीलई अवे मैदानमा खेल्दा नडराई खेल्न भनेका छन् । शनिबार ला लिगामा भ्यालेन्सियासँग अवे मैदानमा हुने खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै सेटिनले यस्तो बताएका हुन् ।

बार्सिलोना सधैं अवे मैदानमा कमजोर देखिने र अवे खेल जित्न हम्मे पर्ने भन्दै सेटिनले अब सो अवस्थाको अन्त्य हुनुपर्ने आशयको भनाइ राखे । केही दिनअघि मात्रै कोपा डेल रे फुटबलको अन्तिम ३२ मा बार्सिलोनाले अवे मैदानमा तेस्रो डिभिजनको टिम इबिजासँग २–१ को संघर्षपूर्ण जित निकालेको थियो । यसबाहेक पनि बार्सिलोनालाई अवे खेल जित्न निकै कठिनाइ हुने गरेको छ ।

इबिजासँगको खेलपछि सेटिन आफ्ना खेलाडीको प्रदर्शनबाट बेखुसी छन् । सो खेलपछि त उनले पत्रकार सम्मेलनमै आफ्ना खेलाडीले भन्दा तेस्रो डिभिजनका खेलाडीले शानदार खेलेको भन्दै विपक्षी टिमको तारिफ गरेका थिए ।

भ्यालेन्सियासँगको खेलअघि पनि उनले सो कुरा महत्त्वसाथ भने । ‘अवे मैदानमा जाँदा टिमले किन दबाब महसुस गर्छ ? यो मलाई थाहा छैन । बार्सिलोनाले घरमा जसरी खेल्छ, बाहिर पनि त्यसरी नै खेल्न सक्नुपर्छ,’ सेटिनले भने ।

सेटिनले अबका दिनमा अवे खेलमा टिमले नयाँ ढंगले खेल्नुपर्ने बताए । ‘इबिजाविरुद्ध मेरा खेलाडीले जुन मानसिकताका साथ खेले, अब म त्यो चाहन्नँ,’ सेटिनले भने, ‘टिमले हरेक खेल आत्मविश्वासका साथ खेल्नुपर्छ, यदि हामी उपाधि जित्न चाहन्छौं भने ।’

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १२:५३
Loading...