रोनाल्डोले जिते २०१९ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड

एजेन्सी, पुस १४
इटालियन युभेन्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्ष २०१९ का लागि पुरुष फुटबलमा वर्षकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आइतबार राति दुबईमा ‘बेस्ट प्लेयर अफ् द इयर २०१९’ का लागि रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’मा छैटौंपटक बाजी मारेका हुन् ।

यो अवार्डका लागि आयोजक र फुटबल विशेषज्ञका तर्फबाट भोटिङ हुन्छ । र, सर्वाधिक अंक पाउने खेलाडी विजेता घोषित हुन्छन् । अवार्ड युरोपियन एसोसिएसन अफ् प्लेयर्स एजेन्ट नामक संस्थाले दिने गर्छ ।

यससँगै यो अवार्ड सर्वाधिक धेरै जित्नेमा रोनाल्डोले रेकर्ड बनाएका छन् । अवार्ड स्थापनाको १० वर्षमा रोनाल्डो एक्लैले कूल ६ पटक यो अवार्ड जितेका छन्, जुन सर्वाधिक हो । यो अवार्ड बार्सिलोनाका लिओनल मेस्सीले हालसम्म मात्रै एकपटक जितेका छन् ।

रोनाल्डोले यो अवार्ड पहिलोपटक सन् २०११ मा जितेका थिए । उनले पछिल्ला चार वर्ष लगातार यो अवार्डमा बाजी मारेका हुन् । मेस्सीले भने यो अवार्ड सन् २०१५ मा मात्रै जितेका थिए ।

गत सिजन रोनाल्डोले युभेन्टसमा पहिलो सिजन शानदार बनाउनेक्रममा घरेलु लिग र इटालियन सुपरकोपा जितेका थिए । यस वर्ष उनले देश र क्लबका लागि कूल ३९ गोल गरे भने पोर्चुगललाई यसै वर्ष युइएफए नेसन्स लिगको उपाधि जिताउन पनि योगदान दिए । रोनाल्डोले २०१९ को समाप्तिसँगै यो दशकमा कूल ५५५ गोल समेत पूरा गरे ।

यसपटक यो अवार्डका लागि रोनाल्डोसहित इंग्लिस क्लब लिभरपुलका मोहमद सालाह, साडियो माने, भर्जिल भान डाइक, एलिसन बेकर, म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भा र बार्सिलोनाका लिओनल मेस्सी मनोनयनमा परेका थिए ।

प्रकाशित मिति १४ पुष २०७६, सोमबार ०३:२९
Loading...