ग्वार्डिओलाका पिता भन्छन्– ‘पेप बार्सिलोना फर्किन तयार छन्’

एजेन्सी, मंसिर २०
स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओला पुनः पूर्वक्लब बार्सिलोना फर्किन सक्ने उनका पिता भ्यालेन्टी ग्वार्डिओलाले बताएका छन् । अघिल्लो दिन स्पेनमा ग्वार्डिओलाले ‘क्याटलान एफए’ ले दिने वर्षको सर्वोत्कृष्ट कोचको अवार्ड ग्रहण गर्ने कार्यक्रम थियो ।

सो कार्यक्रममा ग्वार्डिओला सहभागी हुन नसक्ने भएपछि उनका पिताले छोराको अवार्ड थापेका थिए । पेपले कार्यक्रममा भिडियो सन्देश भने पठाएका थिए । छोराको अवार्ड ग्रहण गरेपछि भ्यालेन्टीले मिडियासँग कुरा गर्दै ग्वार्डिओला पुनः बार्सिलोना फर्किन सक्ने बताए ।

‘अवश्य पनि, यो स्वीकार्य हुनेछ । यसको अर्थ उनी जुनसुकै बेला पुनः बार्सिलोना फर्किन सक्छन् । तर, प्रशिक्षकको भूमिकामा मात्रै,’ उनका पिताले भनेका छन् ।

भ्यालेन्टीले ग्वार्डिओलाको मनमा सधैं बार्सिलोना रहेको बताउँदै उचित समयमा उनी पुरानो घर फर्किन सक्ने बताए । ‘घरबाहिर भएदेखि नै मैले उनलाई सल्लाह दिन छाडेको छु । आफ्ना निर्णय उनी आफैं गर्छन् । तर, मलाई लाग्छ, सही समयमा उनी बार्सिलोना फर्किन सक्छन् । किनभने, उनको मनमा सधैं बार्सिलोना छ ।’

ग्वार्डिओलाले सन् २०१२ मा बार्सिलोना छाडेका थिए । बार्सिलोना छाडेपछि जर्मन क्लब बार्यन म्युनिखको प्रशिक्षक बनेका उनी पछि म्यानचेस्टर सिटी पुगेका थिए ।

प्रकाशित मिति २० मंसिर २०७६, शुक्रबार ०७:२५
Loading...