च्याम्पियन्स लिग : फाइनल प्रवेशका लागि आज चेल्सी र रियल मड्रिड निर्णायक भिडन्त गर्दै

काठमाडौं, वैशाख २२

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल अन्तर्गत दोस्रो लेगको निर्णायक खेल हुँदैछ, जहाँ इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड निर्णायक भिडन्तमा उत्रिँदैछन् । आजसम्म जम्मा एकपटक सन् २०१२ को च्याम्पियन चेल्सीले सर्वाधिक १३औं पटकको च्याम्पियन रियललाई आज यो खेलका लागि आफ्नो घरलु मैदानमा स्वागत गर्दैछ । यो खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

गत राति भएको एक सेमिफाइनलबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनल प्रवेश गरिसकेको छ । पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटी क्लब इतिहासमै पहिलोपटक यस प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । उसले सेमिफाइनलमा गत सिजनको फाइनालिस्ट समेत रहेको फ्रेन्च क्लब पिएसजीलाई एग्रीगेटमा ४–१ को अन्तरमा हराउँदै फाइनल पुग्ने पहिलो टिम बनेको हो । अब आज रातिको दोस्रो सेमिफाइनलबाट चेल्सी र रियल दुवै एकअर्कालाई पन्छाएर सिटीसँगको उपाधि भेट पक्का गर्ने दाउमा छ ।

चेल्सी र रियलबीच यसअघि रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । सो खेलमा रियलले पछि परेको अवस्थामा गोल गरेर हार पन्छाएको थियो । रियलको घरमा भएको अवे लेगमा चेल्सीले १ गोल गरेकाले त्यो उसका लागि १ अवे गोल हो । आज आफ्नो घरमा उत्रिँदा चेल्सीलाई सो अवे गोलको फाइदा पुग्न सक्नेछ । पहिलो लेगमा दुवै टोलीबीच बराबरी नतिजा मात्रै रहेकाले दोस्रो लेगमा दुवै टोली समग्रमा उत्तिकै दबाबमा हुनेछन् ।

आफ्नो मैदान स्टामफोर्ड ब्रिजमा उत्रिँदा चेल्सीलाई पाहुना टोली रियललाई गोलरहित ०–० को बराबरीमा रोके पनि फाइनल पुग्न काफी हुन्छ । त्यो अवस्थामा चेल्सी अघिल्लै लेगको अवे गालको फाइदा लिएर फाइनल पुग्नेछ । तर, रियललाई भने आज चेल्सीको घरेलु मैदानमा कम्तीमा ०–१ को स्पष्ट जित भए फाइनल पुग्न पर्याप्त हुन्छ । रियलका लागि अर्को सहज अवस्था के हो भने उसले कम्तीमा २ गोल गरेर खेल बराबरी मात्रै गर्न सके पनि अवे गोलका आधारमा ऊ नै फाइनल पुग्नेछ ।

तर, यदि आफ्नो मैदानमा रियलले २ वा सोभन्दा बढी गोल गरेर खेल बराबरी गरेको खण्डमा भने चेल्सीलाई स्पष्ट अन्तरमै जित आवश्यक पर्छ । तसर्थ आज चेल्सीको लक्ष्य रियलमाथि स्पष्ट जित वा ०–० को बराबरीमा रोक्नु हुनेछ भने रियलको दाउ स्पष्ट जित वा कम्तीमा २ गोल गरेर खेल बराबरी गर्नु हुनेछ । यी अवस्थाले आज रातिको खेलबाट को चाहिँ फाइनल प्रवेश गर्ने भन्ने कुराको तय गर्नेछ ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल र राम्रो अनुभव भएको रियल आज चेल्सीको मैदानमा आफ्नो अनुभवलाई उच्चतम् प्रयोग गर्ने प्रयासमा हुनेछ । आज रियलका लागि सबैभन्दा सबल पक्ष के छ भने, उसका अधिकांश प्रमुख खेलाडी चोटमुक्त र कोरोनामुक्त हुँदै टोलीमा फर्किएका छन् । कप्तान तथा मुख्य डिफेन्डर सर्जियो रामोस, शानदार लयमा रहेका लेफट् ब्याक फोर्लान मेन्डी, अट्याकिङ मिडफिल्डर फेडे भाल्भर्डे, टोनी क्रुससहितका प्रमुख खेलाडी फिट हुँदै टोलीमा फर्किएका छन् । अर्का प्रमुख खेलाडी इडेन हाजार्ड दुई साता अघिबाटै टोलीमा फर्किएका छन् ।

आज रियलका प्रशिक्षक जिनेदिन जिदानले चेल्सीविरुद्ध च्याम्पियन्स लिगको आफ्नो सफल रणनीति र खारिएको अनुभव दुवै कुरा प्रयोग गर्नेवाला छन् । आज उनले चेल्सीवरुद्ध च्याम्पियन्स लिगको आफ्नो पहिलो रोजाइको टोली उतार्नेछन् । जसमा इडेन हाजार्ड र फोर्लान मेन्डी आज पहिलो रोजाइमा थप हुने पक्का छ । अघिल्लो लेगमा हाजार्डले पूर्वक्लबविरुद्ध बेन्चबाट खेले पनि आज उनलाई जिदानले सुरुआतबाटै खेलाउने करिब पक्का छ ।

जिदानका लागि आज रामोस, मेन्डी र भाल्भर्डेर्को फिर्ती ठूलो भरोसा हुनेछ भने टोनी क्रुस, कासेमिरो, लुका मोड्रिच, करिम बेन्जेमा र हाजार्ड मुख्य योजनामा हुनेछन् । यता, चेल्सीका नयाँ प्रशिक्षक थोमस टुचेल आज च्याम्पियन्स लिगको सर्वाधिक सफल टोलीविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै फाइनलको टिकट काट्ने दाउमा हुनेछन् ।

प्रकाशित मिति २२ बैशाख २०७८, बुधबार ०६:५४
Loading...