पिएसजीको धुलाइ गर्दै म्यानचेस्टर सिटी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, वैशाख २२

इंग्लिस क्लब म्यानचेस्टर सिटी क्लब इतिहासमै १४१ वर्षमा पहिलोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । उसले सेमिफाइनलमा फ्रेन्च क्लब पिएसजीमाथि समग्रमा ४–१ को शानदार जित निकाल्दै पहिलोपटक फाइनलमा स्थान तय गरेको हो । नेपाली समयअनुसार बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली पिएसजीलाई २–० ले हरायो ।

पहिलो र दोस्रो दुवै लेगको नतिजा जोड्दा सिटीले पिएसजीलाई एग्रीगेटमा ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । यससँगै सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओला पनि प्रशिक्षकका रूपमा १० वर्षपछि बल्ल च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्न सफल भएका छन् । बार्सिलोनामा अन्तिमपटक च्याम्पियन्स लिग जितेयता पेपको टिम यसअघि कहिल्यै पनि च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थिएन ।

सिटीको घरेलु मैदानमा पाहुना टोली पिएसजी खेलको ६९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । विपक्षी खेलाडीमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले अर्जेन्टिनी खेलाडी एन्जल डि मारियालाई सोझै रातो कार्ड देखाएका थिए । खेलमा पटक–पटक तनाव र झडपका दृश्य देखिएका थिए । १० खेलाडीमा सीमित भएपछि पिएसजी झन् दबाबमा परेको थियो ।

घरेलु टोली सिटीको जितमा रियाद महारेज नायक बने । टिमका लागि २ वटा गोल नै उनैले गरे । उनले खेलको ११औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सिटीका गोलकिपरबाट बनेको मुभमा सिटीले निकै राम्रो आक्रमण बुन्दै सो गोल गर्न सफल भएको थियो । उनको प्रहारले पिएसजीका गोलकिपर केलर नाभासलाई जिल्ल बनाउँदै बटम कर्नरबाट जाली चुमेको थियो ।

त्यसपछि सिटीका लागि दोस्रो खेल खेलको ६९औं मिनेटमा महारेजले नै गरे । सिटीको द्रुत मुभमा केभिन डे ब्रुयाने र फिल फोडेनबीचको उत्कृष्ट तालमेलको मदतमा महारेजले बक्स भित्रबाट सुन्दर गोल गरेपछि खेलमा सिटीले २–० को अग्रता बनायो । सो गोल खाएपछि पिएसजीको खेलमा फर्किने सम्भावना सकिएको थिया ।

अन्ततः त्यसपछि खेलमा दुवै तर्फबाट गोल भएन । र, सिटीले दोस्रो लेग २–० तथा समग्रमा ४–१ ले जित्यो । दोस्रो लेगमा सिटीले उत्कृष्ट रक्षात्मक खेल पस्कियो । पिएसजीले खेलमा सिटीको भन्दा बढी आक्रमण बुनेको थियो । तर, सिटीको युवा खेलाडीको डिफेन्स लाइन खेलभरि नै पर्खाल बने उभिँदा पिएसजीका नेइमार, माउरो इकार्डी, डि मारियाजस्ता खेलाडीको कुनै सिप नै चलेन ।

पिएसजीले खेलभरिमा सिटीको पोस्टतर्फ कूल १४ पटक आक्रमण बुनेको थियो । तर, उसले एकपटक पनि अन टार्गेट हान्न सकेन । उसका १४ सटमध्ये कुनै पनि सट सही दिशामा थिएनन् । उसले सिटीको भन्दा बढी ५६ प्रतिशत बल आफ्नो पक्षमा राख्दा ५८९ पास खेले पनि गोलविहीन बन्दा सिटीको घरमा कमब्याक लक्ष्य खरानी भयो । यता, सिटीले भने जम्मा १२ सट हान्दा ५ सट सही दिशामा हान्दै २ गोल गर्न सफल भयो ।

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार २०:०९
Loading...