‘कोरोना प्रोटोकल’ तोडेको आरोपमा मेस्सीविरुद्ध दुई निकायद्वारा अनुसन्धान सुरु

एजेन्सी, वैशाख २१

स्पेनिस ला लिगाले बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीसहित अन्य खेलाडीमाथि अनुसन्धान थालेको छ । मेस्सीले टोलीका खेलाडीहरूलाई आफ्नो घरमा खाना खानका लागि आमन्त्रण गरेपछि त्यसले कोरोना प्रोटोकेल तोडेको भन्दै सो विषय अनुसन्धानको दायरामा तानिएको हो । बार्सिलोनाले ला लिगामा आइतबार राति भ्यालेन्सियामाथि अवे मैदानमा २–३ को जित निकालेपछि मेस्सीले सिजनका बाँकी खेल र योजनाबारे छलफल गर्ने प्रयोजनका लागि घरमा लन्च पार्टी आयोजना गरेका थिए ।

कोरोना भाइरसको महामारीबीच अन्य देशमा झैं स्पेनमा पनि कुनै पनि सामूहिक कार्यक्रम गर्न प्रतिबन्ध छ । अझ खेलाडीको हकमा त स्थानीय सरकार, फुटबल संघ लिगले कडा ‘कोरोना प्रोटोकल’ लागू गरेको छ । जसअनुसार प्रोटोकल भन्दा बाहिर वा प्रोटोकलले प्रतिबन्ध गरेका कुरा र काम केही पनि गर्न पाइँदैन । स्पेनमा लागू भएको कोरोना प्रोटोकलअनुसार खेलाडीले मैदानभन्दा बाहिर समूहमा जम्मा हुन, कुनै पनि प्रकारको पार्टी गर्न वा कार्यक्रम गर्न वा कतै गएर टुर आवास गर्न पाइँदैन ।

यी सबै कार्यलाई त्यहाँको सरकार साथै लिगले पनि कडाइका साथ प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध अहिले युरोपमा झनै कडा छ । क्याटलान सरकारले लगाएको कोरोना नियमअनुसार त्यहाँ कम्तीमा ६ जना मात्रै मानिस स्वास्थ्य मापदण्ड पूरा गरेर जम्मा हुन पाइन्छ । यो संख्याभन्दा बढीमा जम्मा हुन र भेला हुन वा कुनै पनि प्रकारको सामूहिक कार्यक्रममा सहभागी हुन पाइँदैन । यो नियम सरकार, फुटबल संघ र ला लिगाले पनि स्वीकारेको छ ।

बार्सिलोनाले ला लिगाको उपाधि होडमा अति नै महत्त्वपूर्ण मानिएको खेलमा लिग लिडर एथ्लेटिको मड्रिडसँगको खेल खेल्नुअघि मेस्सीले सोमबार आफ्ना टिमका सहकर्मीलाई सामूहिक रूपमा खाना खाने गरी घरमा निम्ता गरेर खाना खुवाएका थिए । यो बताइएको छ कि, मेस्सीले महत्त्वपूर्ण खेलअघि सिंगो टिमसँगै खाना खाएर फ्रेस हुन र आगामी खेल र उपाधि होडबारे छलफल गर्ने उद्देश्यले लन्च पार्टी आयोजना गरेका थिए ।

तर, सो कुरा मिडियामा बाहिरिएपछि ला लिगा र स्थानीय सरकारले यस विषयमा अनुसन्धान गर्न आ–आफ्नो तर्फबाट समिति बनाएर काम थालेको ‘मार्का’ ले जनाएको छ । यसअघि बार्सिलोनाका खेलाडी आ–आफ्ना सवारी साधन हाँकेर मेस्सीको घरमा लन्च पार्टीमा जाँदै गरेका भन्ने तस्बिर र भिडियो सार्वजनिक भएका थिए ।

रिपोर्टअनुसार मेस्सीले निम्ता गरेको खाना खाने कार्यक्रममा सिनियर टिमका खेलाडीसहित उनीहरूका श्रीमती–प्रेमिकाहरू सहभागी थिए । युरोपमा अहिले बिदामा रहँदा पनि निकै कडा कोरोना प्रोटोकल पालना गर्नुपर्छ । तर, मेस्सीले त बिदा नै नभई व्यस्त खेल तालिकाबीच ‘लन्च पार्टी’ आयोजना गरेपछि सो विषय अनुसन्धानमा तानिने भएको हो ।

यदि अनुसन्धानबाट मेस्सी र बार्सिलोनाका खेलाडीले कोरोना प्रोटोकल तोडेको पुष्टि खेलाडी र क्लबमाथि कारबाही हुनेछ । साथै, मेस्सीले लन्च पार्टी आयोजना गरेकाले उनीमाथि सामान्य कारबाही मात्रै भए आर्थिक जरिमाना र कडा कारबाही भए लिगका २ खेलसम्म प्रतिबन्ध लाग्न सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार १४:००
Loading...