च्याम्पियन्स लिग : फाइनल पुग्न आज सिटी र पिएसजी भिड्दै, पिएसजी ‘गर कि मर’को अवस्थामा

काठमाडौं, वैशाख २१

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा आज राति सेमिफाइनलअन्तर्गत दोस्रो लेगको एक निर्णायक खेल हुँदैछ । जहाँ इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजी दोस्रो लेगको निर्णायक खेलमा आमनेसामने हुँदैछन् । यो खेलबाट फाइनल प्रवेश गर्ने पहिलो टोलीको टुंगो लाग्नेछ ।

यो खेल सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । खेल सिटी अफ् म्यानचेस्टर स्टेडियममा हुनेछ । यसअघि पिएसजीको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा सिटीले १–२ ले जितेको थियो । आज आफ्नो घरमा उत्रिँदा सिटी पहिलो लेगको नतिजा जोगाउन चाहन्छ भने पिएसजी पहिलो लेगको नतिजा उल्ट्याउने दाउमा हुनेछ ।

आज आफ्नो घरेलु मैदानमा उत्रिँदा सिटीलाई धेरै ठूलो दबाब हुनेछैन । यसअघिको पिएसजीको मैदानमा जित्दा २ अवे गोल गरेकाले उसलाई आज यसको फाइदा पुग्न सक्नेछ । यदि सिटी घरेलु मैदानमा पिएसजीसँग कम्तीमा ०–१ ले मात्रै पराजित भए पनि एग्रीगेट नतिजाका आधारमा सिटी नै अगाडि रहेर फाइनल प्रवेश गर्नेछ । त्यसबेला उसलाई बढी अवे गोलको फाइदा हुन्छ ।

तर, पिएसजीलाई भने सिटीको मैदानमा नतिजा उल्टाउन प्रभावशाली नतिजा नै चाहिन्छ । उसलाई आज कम्तीमा ०–२ को एकपक्षीय जित चाहिन्छ । यो सबैभन्दा सजिलो नतिजा हुनेछ । यदि उसले आफूले गोल खाएको खण्डमा भने पिएसजीले सिटीलाई २–३ को अन्तरमा हरायो भने पनि पिएसजी फाइनल पुग्नेछ । त्यो बेला खेल समग्रमा ४–४ हुने भए बढी अवे गोलका आधारमा पिएसजी फाइनल पुग्नेछ ।

तसर्थ आज सिटी आफ्ना घरमा खेल्दा अघिल्लो लेगको नजिा बचाउन प्रयास गर्नेछ भने पिएसजी ०–२ वा २–३ गरी यी दुईमध्ये एक नतिजाका लागि लड्नेछ । यी दुईमध्ये एक नतिजा निकाल्न सके पिएसजीले कमब्याक जितका साथ उपाधि नजिक पुग्नेछ । तर, उसलाई ०–१ को मात्रै जितले भने केही हुनेवाला छैन ।

फाइनल प्रवेशका लागि निर्णायक भिडन्त हुने भएकाले आज दुवै टोली यो खेलमा अन्तिम लडाइँ लड्नेवाला छन् । खास गरी पाहुना टोली पिएसजी आज ज्यादा दबाबमा हुनेछ । खासमा भन्ने हो भने ऊ आज सिटीविरुद्ध गर कि मरको अवस्थामा खेल्नेछ । किनभने, पिएसजी फाइनल पुग्न र उपाधि जित्न चाहन्छ भने सिटीविरुद्ध पुनरागमन जित निकाल्नैपर्छ । गत सिजन फाइनलमा पराजित भएको पिएसजी यसपटक जसरी पनि यो उपाधि जित्ने होडमा छ । तर, उसलाई सजिलो भने छैन ।

यसअघि पिएसजीलाई उसकै घरमा हराउँदा सिटीको युवा खेलाडीको डिफेन्स लाइन पर्खाल बनेर उभिएको थियो । उनीहरूले पिएसजीका आक्रामक फरवार्डद्वय केलियन एमबाप्पे र नेइमारलाई चुपचाप राख्न सफल भएका थिए । आज घरेलु मैदानमा खेल्दा फेरि पनि एमबाप्पे र नेइमारलाई रोक्नुपर्ने चुनौती हुनेछ । आज सिटीका लागि मुख्य चुनौती भनेकै नेइमार र एमबाप्पेलाई रोक्नु हो ।

यता, आज पिएसजीको फ्रन्ट लाइनमाथि ठूलो दबाब हुन्छ । उनीहरूलाई खेल जित्नका लागि गोल चाहिने भएकाले यो टिमको फ्रन्ट लाइन आज गोलका लागि खेल्नेछ । गोल नगरी खेल जित्न नसकिने भएकाले आज नेइमार र एमबाप्पे दुवै सिटीविरुद्ध सुरुआतबाटै गोलका लागि संघर्ष गर्नेवाला छन् । आज यी दुई खेलाडीमाथि गोल गर्नैपर्ने दबाब छ ।

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार ०४:४४
Loading...