सेभिल्लाद्वारा ला लिगा उपाधि अरूलाई नै जिम्मा : बिल्बाओसँग आफ्नै घरमा स्तब्ध

काठमाडौं, वैशाख २१

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको सेभिल्ला उपाधि होडबाट करिब–करिब आउट भएको छ । गत राति सेभिल्ला लिगको ३४औं साताको खेलमा आफ्नै घरेलु मैदानमा एथ्लेटिक बिल्बाओसँग ०–१ ले पराजित भएपछि उसले उपाधि होड अरू नै टिमलाई जिम्मा दिएको हो ।

आफ्नो घरेलु मैदानमा सेभिल्लाले पाहुना टोली बिल्बाओविरुद्ध आक्रामक खेल खेल्दै खेलभरि नै बलियो पकड जमाए पनि उसले अन्तिम समय ९०औं मिनेटमा गोल खाएपछि महत्त्वपूर्ण खेल गुमायो । ८९औं मिनेटसम्म आफ्नो पोस्ट जोगाएको सेभिल्ला अन्तिम मिनेट सम्हालिन सकेन । र, बिल्बाओका इनाकी विलियम्सले गोल गर्दै सेभिल्लाविरुद्ध टिमलाई ०–१ को जित दिलाए ।

सेभिल्लाले घरेलु मैदानमा ७४ प्रतिशत बल आफ्नो पकडमा राखेर कूल १८ सट प्रहार गर्दा ३ सट मात्रै अन टार्गेट हानेको थियो । यता, बिल्बाओले भने खेलभरिमा जम्मा २६ प्रतिशत बल नियन्त्रणमा राख्दा ८ पटक प्रहार गर्दा मात्रै २ सट अन टार्गेट हानेको थियो । उसले हानेका २ सटमध्ये एक सट गोलमा परिणत भएको थियो ।

अब यो हारपछि सेभिल्ला ३४ खेलबाट ७० अंकमै सीमित भएको छ । ऊ चौथो स्थानमा यथावत रहेको छ । यो हारपछि उसले शीर्ष तीन टोलीसँग अंक दूरी घटाउने मौका गुमायो । जितेको भए उसले तेस्रो स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडसँगको दूरी १ मा झार्ने थियो । यता, विजयी बिल्बाओले ३४ खेलबाट ४५ अंकसहित नवौं स्थानमा चढेको छ ।

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार ०२:३६
Loading...