बालोन डि‘ओर २०२१ को नयाँ ‘पावर र्‍याङकिङ’ सार्वजनिक : को कति नम्बरमा छ ?

काठमाडौं, वैशाख २१

वर्ष २०२१ मा विश्व फुटबलको प्रतिष्ठित बालोन डिओर अवार्ड वर्ष कसले जित्ला ? अहिलेबाटै यसबारे विभिन्न अड्कलबाजी, दाबी, विश्लेषण तथा सर्वेक्षणहरू हुन थालिसकेका छन् । अहिले भर्खर यस वर्षको मे महिना सुरु भएको छ । बालोन डिओरका लागि यस वर्षभरिको सबैखाले प्रतियोगिताको समग्र प्रदर्शनलाई हेरेर मूल्यांकन गरिन्छ । तसर्थ यो वर्ष सकिन अझै ७ महिना नै बाँकी छन् ।

तर, २०२१ मा दिइने अवार्डका लागि अहिले जारी सिजन २०२०–२१ को प्रदर्शन सबैभन्दा मुख्य आधारमध्ये एक हुने भएकाले पनि यो सिजनको प्रदर्शन वरिपरि रहेर फुटबल जगतमा यसबारे चर्चा र विश्लेषण हुन थालेका छन् । यो सिजन सकिनेतर्फ अघि बढ्दै गर्दा यो क्रम झनै बढेको छ । फुटबलका समर्थक, मिडिया, विश्लेषकदेखि पूर्वखेलाडीहरूले पनि यस विषयमा आ–आफ्ना विचारहरू व्यक्त गरिरहेका छन् ।

पछिल्लो समय विश्व फुटबलका केही चर्चित खेल मिडिया र संस्थाहरूले आ–आफ्नो मूल्यांकनका आधारमा बालोन डिओरमा दाबेदार खेलाडीको वरीयता प्रकाशित गरे । कतिपय मिडियाले आफ्नो मूल्यांकनलाई आधार मानेर यस्ता वरीयता निकाल्ने गर्छन् भने कतिपयले फ्यानहरूबाट भोट संकलन गरेर यस्तो सूची निकाल्दै आएका छन् । तर, बालोन डिओर अवार्ड दिने स्वयं संस्थाले भने यस्तो वरीयता सूची कहिल्यै पनि निकाल्दैन । किनभने, उसले अफिसियल मनोनयन मात्रै निकाल्छ ।

तसर्थ, यसरी प्रकाशित हुने विभिन्न सर्वेक्षण तथा रिपोर्टहरू भनेका अफिसियल होइनन् । उनीहरूले स्थितिको मूल्यांकन गरेर यी कुरा बाहिर ल्याउँछन् । तर, के चाहिँ साँचो हो भने– यसरी आएका वरीयता र रिपोर्ट आधिकारिक नभए पनि धेरै हदसम्म सही भने हुन्छन् । किन पनि भने, उनीहरूले खेलाडीको प्रदर्शन, टिमको अवस्था, खेलाडी र टिमको सफलता सबै कुरालाई संकलन तथा विश्लेषण गरेर यो काम गरिरहेका हुन्छन् ।

यसरी आउने रिपोर्ट तथा वरीयताबा मोटामोटी अवस्था पनि थाहा पाउन सकिन्छ । जस्तो कि, अहिले सार्वजनिक भइरहेका विभिन्न रिपोर्ट तथा वरीयताहरू धेरै हदसम्म सही नै हुन्छन् । बालोन डिओर अवार्ड दिने ‘फ्रान्स फुटबल’ले जुन–जुन आधार र मामदण्ड बनाएर उत्कृष्ट खेलाडी छान्छ, विभिन्न संस्था र मिडियाले भने त्यहीअनुसार खेलाडीको मूल्यांकन गरेर सूची निकाल्ने हुँदा यी धेरै हदसम्म सही र साँचो नै हुन्छन् ।

हालको अवस्थामा जर्मन बुन्डेसलिगा, इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र फ्रेन्च लिग वानमा च्याम्पियन घोषणा हुन बाँकी छ भने इटालियन सिरी ए लिग इन्टर मिलानले जितिसकेको छ । अब एक वा दुई खेलपछि प्रिमियर लिग र बुन्डेसलिगामा पनि घरेलु च्याम्पियनको टुंगो लागिसक्नेछ । फ्रेन्च लिग वान र स्पेनिस ला लिगामा भने उपाधि होड कडा रहेकाले अन्तिम खेलसम्मै प्रतीक्षा गर्नुपर्ने स्थिति छ । यीबाहेक च्याम्पियन्स लिगको च्याम्पियन को बन्छ भन्ने कुरा यो सिजनको मुख्य प्रतीक्ष हो ।

घरेलु लिग र च्याम्पियन्स लिगको विजेता टुंगो लागेपछि २०२१ को बालोन डिओर कसले जित्छ भनेर करिब ७५ प्रतिशत अवस्था थाहा भइहाल्छ । बाँकी भनेका यस वर्ष हुने ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताले तय गर्नेछ । किनभने, यस वर्ष युरोपमा युरो कप, दक्षिण अमेरिकी क्षेत्रमा कोपा अमेरिका, अफ्रिकन क्षेत्रमा अफ्रिकन कपलगायत प्रतियोगिता हुने भएकाले क्लब फुटबलका आधारमा मुख्य दाबेदार बनेका खेलाडीले यी प्रतियोगितामा राष्ट्रिय टोलीबाट कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले मात्रै बालोन डिओर अवार्डमा मुख्य दाबेदारहरूको अनुहार देखाउनेछ । त्यसपछि अर्को सिजन २०२१–२२ को सुरुआती चरणका खेलको मूल्यांकन पनि हुनेछ ।

यसैबीच, चर्चित खेल संस्था ‘गोल’ले बालोन डिओर अवार्डमा ताजा वरीयता प्रकाशित गरेको छ । उसले यो सिजन हालसम्मको खेलाडीको समग्र प्रदर्शन, खेलाडीको व्यक्तिगत तथ्यांक, टिमको सफलता र त्यसमा खेलाडीको योगदान लगायत कुरालाई आधार मानेर पावर्र याङकिङ प्रकाशित गरेको हो । यसपटक बालोन डिओर अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे, पिएसजीकै नेइमार, इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुयाने, जर्मन क्लब बोरुसिया डर्टमुन्डका अर्लिङ, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, इटालियन युभेन्सका क्रिस्टियानो रोनाल्डोसहितका खेलाडीको नाम चर्चामा छन् ।

तर यो सिजन घरेलु लिग, च्याम्पियन्स लिग र ठूला खेलहरूमा समेत गरेको प्रदर्शनका आधारमा भने पिएसजीका एमबाप्पे, बार्यनका लेवान्डोस्की, पिएसजीकै नेइमारलगात खेलाडीलाई सबैभन्दा प्रमुख दाबेदार मानिएको छ । प्रकाशित वरीयताको सबैभन्दा शीर्ष स्थानमा पिएसजीका युवा फरवार्ड एमबाप्पे छन् । उनले यो सिजन घरेलु लिग र च्याम्पियन्स लिगमा समेत उच्च प्रदर्शन गरिरहेका छन् । यता, केही समयअघि सुरु भएका फिफा विश्वकप फुटबलको छनौटअन्तर्गत पहिलो चरणका खेलमा पनि उनले शानदार प्रदर्शन गरेका थिए । यस आधारमा उनलाई हालसम्म बालोन डिओर अवार्डका लागि नम्बर वान दाबेदार मानिएको छ । जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिगबाट चाँडै आउट भएकाले लेवान्डोस्कीको भने दाबेदारी कमजोर बनेको छ । ‘गोल’ले प्रकाशित गरेको टप–१० सूची यहाँ प्रकाशित राखिएको छ–ः

१. केलियन एमबाप्पे (पिएसजी)
२. रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख)
३. केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी)
४. नेइमार (पिएसजी)
५. करिम बेन्जेमा (रियल मड्रिड)
६. लिओनल मेस्सी (बार्सिलोना)
७.अर्लिङ हल्यान्ड (बोरुसिया डर्टमुन्ड)
८. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
९. रोमेलु लुकाकु (इन्टर मिलान)
१०. इकाए गुन्डोवान (म्यानचेस्टर सिटी)

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ०४:४७
Loading...