शानदार मेस्सी : १४६ खेल कम खेलेर फ्रि किक गोलमा रोनाल्डोलाई भेट्टाए

काठमाडौं, वैशाख २०

करिअरको कूल फ्रि किक गोल संख्यामा स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले आफ्ना खास प्रतिस्पर्धी इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गरेका छन् । गत राति ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई २–३ ले हराउनेक्रममा मेस्सीले १ गोल फ्रि किकमार्फत् शानदार ढंगले गरेका थिए ।

खेलको ६९औं मिनेटमा मेस्सीले हानेको फ्रि किक प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो, जुन उनका लागि करिअरको कूल ५६औं फ्रि किक गोल थियो । सो गोल गर्नुअघि मेस्सीले ५७औं मिनेटमा पेनाल्टी मिस गरेका थिए । उनको पेनाल्टी गोलकिपरले रोके पनि रिबाउन्ड बलमा उनले गोल गरेर खेल बराबरी बनाएका थिए । त्यसपछि उनले फ्रि किकमा गोल गरेका थिए ।

गत रातिको फ्रि किक गोलसँगै मेस्सीले आफ्नो करिअर दौरान क्लब बार्सिलोना र देश अर्जेन्टिनाका लागि समेत गरी गरेको कूल फ्रि किक गोल संख्या ५६ पुगेको छ । यता, युभेन्टसका रोनाल्डोले पनि हालसम्म विभिनन क्लब र देश पोर्चुगलका लागि समेत गरी कूल ५६ नै फ्रि किक गोल गरेका छन् ।

अब आधुनिक फुटबलमा सर्वाधिक फ्रि किक गोल गर्नेमा रोनाल्डो र मेस्सीको नाम संयुक्त रूपमा रहेको छ । एकअर्काका खास प्रतिस्पर्धी रोनाल्डो र मेस्सी दुवैका नाममा अब समान ५६–५६ फ्रि किक गोल रहेको छ । पछिल्ला वर्ष रोनाल्डोले निकै कम मात्रै फ्रि किक गोल गरेका छन् भने मेस्सीले लगातार फ्रि किकमार्फत् गोल गर्दै आएका छन् ।

तथ्यांक हेर्दा सन् २०११ मा आइपुग्दा रोनाल्डोले कूल ३० गोल फ्री किकमार्फत् गरिसकेका थिए । जबकि, त्यसबेला मेस्सीका नाममा मात्रै ४ फ्री किक गोल थियो । तर, आज २०११ देखि २०२१ सम्म आइपुग्दा १० वर्षपछि मेस्सीले रोनाल्डोको कूल फ्री किक गोलको रेकर्डसँग बराबरी गरेका छन् । मेस्सीको यो निकै ठूलो छलाङ हो ।

हालकै स्थिति हेर्ने हो भने मेस्सीले रोनाल्डोलाई फ्री किक गोलमा पछि पार्ने पक्काजस्तै देखिन्छ । मेस्सीले फ्री किकमा लगातार गोल गर्दै आउनु र रोनाल्डोले यसमा लगातार संघर्ष गरिरहँदा मेस्सीले उनलाई अब केही समयमै पछि पार्ने अनुमान गर्न सकिन्छ । सन् २०१८ मा युभेन्टस गुगेपछि रोनाल्डोले हालसम्म मात्रै १ गोल फ्रि किकमार्फत् गरेका छन् । जबकि, त्यही समयमा मेस्सीले बार्सिलोनामा १४ गोल फ्रि किकमार्फत् गरिसकेका छन् ।

रोनाल्डोले क्लब र देशका लागि गरी कूल १ हजार ६३ खेल खेल्नेक्रममा ५६ फ्री किक गोल गरेका हुन् । यता, मेस्सीले भने बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ९१७ खेलबाट कूल ५६ फ्री किक गोल गरेका छन् । यसरी हेर्दा मेस्सीले १४६ कम खेलबाटै रोनाल्डोको फ्रि किक गोल संख्या बराबरी गरेका हन् । १४६ खेलबाट ज्यादै ठूलो अन्तर हो ।

गत राति बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध २–३ को कमब्याक जित निकाल्नेक्रममा मेस्सीले २ गोल गरेका थिए । उनले पहिलो पेनाल्टी मिस गरे पनि त्यसैको रिबाउन्डमा पहिलो गोल गरेका थिए भने त्यसपछि फ्रि किकमार्फत् निकै शानदार गोल गरेका थिए । यससँगै मेस्सीले जारी सिजन ला लिगामा गरेको कूल गोल संख्या २८ पुगेको छ ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ०४:३३
Loading...