टोटनह्यामको फराकिलो जितमा बेलले हाने ह्याट्रिक

काठमाडौं, वैशाख २०

वेल्स स्टार ग्यारेथ बेलले उत्कृष्ट ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फराकिलो जित निकालेको छ । गत राति भएको लिगको ३४औं साताको खेलमा टोटनह्यामले २०औ स्थानको सेफिल्ड युनाइटेडमाथि ४–० को एकपक्षीय जित निकालेको हो ।

आफ्नो घरेलु मैदानमा टोटनह्यामलाई जिताउनेक्रममा बेलले ३ गोल गरे भने सन हेङ मिनले १ गोल गरे । उनले पहिलो गोल खेलको ३६औं मिनेटमा सेफिल्डका गोलकिपरका अगाडिबाट हलुका प्रहारमा पोस्टको दिशा दिएका थिए । उनले पहिलो गोल औरियर असिस्टमा गरेका थिए ।

त्यसपछि टोटनह्यामले दोस्रो गोल खेलको ६१औं मिनेटमा हान्यो । यसपटक उनले सनको पासमा वान भर्सेस वानको अवस्थामा बक्स लाइनबाट कडा सटमा बललाई शानदार ढंगले जाली चुमाएका थिए । उनको प्रहारमा सेफिल्डका गोलकिपरले रोक्ने मौका समेत पाएनन् ।

त्यसपछि बेलले खेलको ६९औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । यसपटक पनि उनले औरियरको पासमा बक्स लाइन नजिकैबाट कडा लो सटामा बललाई पोस्टको दिशा दिएपछि उनले ह्याट्रिक पूरा गरे । बेलले प्रिमियर लिग इतिहासमै पहिलो ह्याट्रिक गरेका हुन् ।

बेलको ह्याट्रिकपछि टोटनह्यामका लागि सनले चौथो गोल गरे । उनले खेलको ७७औं मिनेटमा वर्गज्विनको पासमा बक्स बाहिरबाट केही हाईबाट निकै सुन्दर गोल गरेपछि खेल टोटनह्यामले ४–० ले जित्न सफल भयो । यो जितसँगै टोटनह्यामले शीर्ष चारको झिनो आशा कायमै राखेको छ ।

अब यो जितपछि टोटनह्यामले ३४ खेलबाट कूल ५६ अंक बनाएको छ । ऊ पाँचौं स्थानमा चढेको छ । टोटनह्याम समान खेलपछि अब चौथो स्थानको चेल्सीभन्दा ५ अंकले पछि नै छ । चेल्सीले बाँकी ४ खेलबाट ५ अंक गुमायो र टोटनह्यामले आफ्ना सबै खेल जित्यो भने मात्रै टोटनह्याम शीर्ष चारमा रहन सक्नेछ ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ०२:२१
Loading...