ड्यानी आल्भेसले मेस्सीलाई पठाए यस्तो भावुक सन्देश

एजेन्सी, वैशाख १९

स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान समेत रहेका प्रमुख फरवार्ड लिओनल मेस्सीले यो सिजनपछि क्लब छाड्ने सम्भावना छ । पछिल्लो स्थितिमा उनले क्लब छाड्ने वा नयाँ सम्झौता गर्ने विषयमा खास प्रगति नहुँदा उनको भविष्य अन्योलमै छ । तर धेरैको अनुमान छ कि, बिस्तारै उनी बार्सिलोनामै रहने वातावरण बन्दै गएको छ ।

यो सिजन सुरु हुनुअघि नै मेस्सीले क्लब छाड्ने निर्णय गरेका थिए । तर, आफूले भने जसरी क्लब छाड्न नपाएपछि उनी बाध्य भएर थप एक सिजना बार्सिलोनामै रहनु परेको थियो । यो सिजनको अन्त्यपछि उनको सम्झौता सकिने हुँदा मेस्सीले चाहेको क्लबमा निःशुल्क जान पाउँछन् । अहिले मेस्सीलाई नयाँ सिजन बार्सिलोनामै देख्न पाइएला वा नयाँ क्लबको जर्सीमा देख्न पाइएला भन्नेमा धेरैको चासो छ ।

यसैबीच, बार्सिलोनाका पूर्वखेलाडी ड्यानी आल्भेसले मेस्सीलाई एक सन्देश पठाएका छन् । उनले मेस्सीसँगको विगत सम्झिँदै भावुक सन्देश पठाएर बार्सिलोना नछाड्न मेस्सीलाई अनुरोध गरेका छन् । विगतमा लामो समय बार्सिलोनामा छँदा आफू र मेस्सीसँग हुने गरेका कुराकानी र संवाद सम्झिँदै उनले मेस्सीलाई बार्सिलोनाबाटै फुटबल करिअर अन्त्य गर्न अनुरोध गरेका छन् ।

ब्राजिलियन डिफेन्डर आल्भेस कुनै बेला बार्सिलोनाका एक प्रमुख खेलाडी थिए । उनले सन् २००८ देखि २०१६ सम्म गरी कूल ८ सिजन बार्सिलोनामा बिताएका थिए । सो दौरान उनले ३९१ खेल खेल्दै २१ गोल गरेका थिए । स्मरण रहोस्, आल्भेस बार्सिलोनामा खेलेको अवधिमा मेस्सीलाई सबैभन्दा धेरै कीर्तिमानी असिस्ट दिन उनी रेकर्डधारी खेलाडी हुन् । उनले बार्सिलोनाबाट तीन च्याम्पियन्स लिगसहित कूल २३ उपाधि जितेका छन् । उनी सन् २०१६ मा बार्सिलोना छाडेर युभेन्टस गएका थिए ।

चर्चित पत्रिका ‘गार्डिएन’सँग कुरा गर्दै ब्राजिलियन खेलाडीले आफ्ना पूर्वसहकर्मी तथा नजिकका साथीलाई भविष्यबारे सुन्दर निर्णय लिन अनुरोध गरेका छन् । उनले सन्देशमा मेस्सी बार्सिलोनाकै लागि जन्मिएको कुरा उल्लखे गर्दै बार्सिलोना मेस्सीकै क्लब हुनका जन्मिएको पनि बताएका छन् । हाल टोलीका कपतान समेत रहेका मेस्सीका नाममा आल्भेसले दिएको सन्देश यस्तो छ–

‘मैले मेस्सीलाई धेरैपल्ट भनेको छु– उनी बार्सिलोनाका लागि खेलाडी हुनका लागि जन्मिएका थिए । र, बार्सिलोना उनको क्लब बन्नका लागि जन्मिएको थियो । मेस्सीले पनि मलाई धेरै कुरामा सल्लाह दिएका छन् । र, आज म पनि त्यस्तै गर्न सक्छु । एकपटक उनले मलाई बार्सिलोनामै बस्न भनेका थिए, जतिबेला मैले बार्सिलोना छाड्न चाहेको थिएँ । किनभने, त्यहाँ राम्रो ठाउँ थिएन । उनले मलाई ‘तिमी कहाँ खुसी हुन्छौं ?’ भनेर सोधेका थिए । त्यसैले मैले त्यसबेला बार्सिलोना छाडिनँ ।’

‘पछिल्लो समय हामीबीच विगतको बारेमा कुराकानी भयो । मैले उनलाई त्यो कुराकानी बारेमा सम्झना गराएको छु । र, एक साथीको नाताले मैले उनलाई अहिलेको अवस्थामा तिम्रा लागि बार्सिलोना नै सबैभन्दा राम्रो स्थान हो भनेर सल्लाह दिएको छु । तर, उनले मलाई यसको जवाफ आजसम्म दिएका छैनन् ।’

‘उनले के गर्नेवाला छन्, त्यो मलाई थहा छैन । तर, जब उनले बार्सिलोना छाड्नेछन्, उनलाई बार्सिलोना कति राम्रो थियो भनेर अनुभुत हुनेछ । बार्सिलोना छाडेर जाने सबै खेलाडीहरू, मलाई माफ गर्नुहोस् । आज पनि म बार्सिलोना छाडेकोमा पछुतो मान्छु । कारण जेसुकै थियो वा जेसुकै होस्, म आज पनि पश्चतापमा छु । तर, मेस्सीलाई यस्तो हुनु हुँदैन । किनभने, बार्सिलोना उनको मन र मुटुमा छ ।’

‘मलाई लाग्दैन, मेस्सीले बार्सिलोना छाड्नुपर्छ । मलाई यो पनि लाग्दैन, उनले बार्सिलोनाले अब तिमी हामीलाई पुग्यो भनेर कुनै दिन भन्छ । किनभने, आजको बार्सिलोना बन्नुमा मेस्सीको जीवनभरिको योगदान छ । त्यहाँ उनले जीवनको अन्तिम दिनसम्म खेलाडी नै बनेर खेल्न चाहन्छु भन्दा पनि कसैले हुँदैन भन्दैन । उनले त्यहाँ हरेक कुरा पाएका छन् र दिएका पनि छन् । तसर्थ, उनले बार्सिलोनामा हरेक राम्रा कुराका लागि पूराका पूरा हक राख्छन् ।’

प्रकाशित मिति १९ बैशाख २०७८, आईतवार ०७:०४
Loading...