रियल मड्रिडको महत्त्वपूर्ण जित : एथ्लेटिकोमाथि दबाब कायमै

काठमाडौं, वैशाख १९

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको दोस्रो स्थानको रियल मड्रिडले मत्त्वपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको ३४औं साताको खेलमा रियल मड्रिडले ११औं स्थानको पाहुना टोली ओसासुनालाई २–० अन्तरले हराउँदै उपाधि होडमा आफूलाई कायमै राखेको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा रियललाई गोल गर्न ठूलै संघर्ष गर्नु परेको थियो । उसले दुवै गोल दोस्रो हाफको ७५ मिनेटपछि मात्रै सम्भव बनाएको थियो । खेलको ७५औं मिनेटसम्म रियल अल्फ्रेडो डे स्टेफानो रंगशालामा गोलविहीन थियो । तर, त्यसपछि उसले मात्रै ४ मिनेटको बीचमा २ गोल हानेर सहजै खेल जित्यो । लिग लिडर एथ्लेटिको मड्रिडमाथि दबाब बनाइराख्न रियलका लागि यो जित अति नै आवश्यक थियो ।

रियलका लागि २ वटै गोल ब्राजिलियन खेलाडीले गर्न सफल भए । खेलको ७६औं मिनेटमा पहिलो गोल डिफेन्डर इडर मिलिटाओले गरेका थिए । उनले सब्सिचयुट खेलाडी इस्कोको पासमा बक्स भित्रबाट हेडिङ प्रहारमा दर्शनीय गोल गरेका थिए । पोस्टको माथिल्लो कुना च्यापेर कठिन अवस्थाबाट उनले हानेको हेडिङ प्रहार ओसासुनाका किपरले राक्ने मौका नै पाएनन् ।

सो गोलपछि थप आक्रमण बढाएको रियलले त्यसको ३ मिनेटपछि नै अग्रता दोब्बर बनायो । यसपटक ब्राजिलियन मिडफिल्डर कासेमिरोले गोल गरे । उनले ओसासुनाका किपरले गोल पोस्ट छाडेको फाइदा उठाएर चलाखीपूर्वक अगाडि प्रहार गरेको गोल सोझै गएर खाली पोस्टमा छिरेको थियो । उनको गोलमा फरवार्ड करिम बेन्जेमाले असिस्ट गरेका थिए ।

त्यसपछि पनि रियलका इस्कोले एक सहज मौका गुमाएका थिए । गोलपोस्ट अगाडि अनमार्क रहेका उनले प्रहार गरेको बल वाइड हुँदा टिमको अग्रता बढ्न पाएन । र, खेल रियलले २–० ले जित्न सफल भयो । यस खेलमा इडेज हाजार्डले ७२ मिनेटसम्म खेले पनि गोल र असिस्टका साथ सोझो योगदान दिन भने सकेनन् । उनलाई इस्कोले प्रतिस्थापन गरेका थिए ।

अब यो जितपछि रियल मड्रिडले ३४ खेलबाट कूल ७४ अंक बनाएको छ । उसले लिग लिडर एथ्लेटिकोसँग अंक दूरी ५ बाट छोट्याएर २ मा झारेको छ । यता, रियलले तेस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि छाडेको छ । तर, बार्सिलोनाले आफ्नो ३४औं खेल खेल्नै बाँकी छ । बार्सिलोनाको अबको खेल भ्यालेन्सियासँग हुनेछ ।

प्रकाशित मिति १८ बैशाख २०७८, शनिबार २०:३६
Loading...