ला लिगाका ठूला खेलका मुखमा बार्सिलोनालई थपियो तनाव

एजेन्सी, वैशाख १८

स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको सिजन निर्णायक मोडतर्फ अघि बढ्दै गर्दा बार्सिलोनालाई झट्का लागेको छ । लिगका ठूला र निर्णायक खेलका मुखमा बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानमाथि प्रतिबन्ध लागेको छ । ला लिगाको प्रतियोगिता कमिटीले डच म्यानेजरमाथि अनुशासनको कारबाही गर्दै आगामी दुई खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

कमिटीले अनुशासनबिपरीत कार्य गरेको ठहर गर्दै कोम्यानमाथि अबका दुई खेलमा बेन्च र प्रशिक्षकको टच लाइनमा समेत बस्ने नपाउने गरी प्रतिबन्ध लगाएको हो । अबका दुई खेलमा कोम्यान दर्शक बस्ने कुर्सीमा बस्नुपर्ने छ । उनले खेल समयभरि आफ्ना खेलाडी र टिमलाई न सुझाव दिन पाउनेछन्, न कुनै निर्देशन दिन पाउनेछन् ।

बिहीबार राति ला लिगामा ग्रानाडाविरुद्धको खेल दौरान रेफ्रीको निर्णयविरुद्ध चर्को विरोध जनाएपछि रेफ्रीले कोम्यानलाई टच लाइनमै पुगेर सोझै रातो कार्ड देखएका थिए । रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै गाली गरेपछि रेफ्रीले कोम्यानलाई सोझै रातो कार्डको दर्शन गराएर टच लाइन र बेन्च छाड्न आदेश थिएका थिए । त्यसपछि कोम्यान दर्शकदीर्घामा गएर बसेका थिए ।

खेल १–१ को बराबरी भएको अवस्थामा कोम्यानले खेलको ६६औं मिनेटमा रातो कार्ड खाएका थिए । टिम चर्को दबाबमा परेका बेला आफूलाई सम्हाल्न नसक्दा उनले पटक–पटक रेफ्रीमाथि खनिएका थिए । कोम्यानले बेन्च छाडेपछि बार्सिलोनाले खेलको ७९औं मिनेटमा दोस्रो गोल खाएपछि आफ्नै मैदानमा १–२ ले पराजित भएको थियो ।

घरेलु मैदानमा पहिला अग्रता बनाए पनि दोस्रो हाफमा त्यसलाई बचाउन नसक्दा ग्रानाडासँग अप्रत्यासित हारको सिकार भएको थियो । सो हारपछि बार्सिलोनाले यो सिजन पहिलोपटक लिगको शीर्ष स्थानमा उक्लिने मौका मात्रै गुमाएन, उसको उपाधि यात्रामा ठूलो धक्का पनि लाग्यो ।

दुई खेलमा प्रतिबन्ध लागेसँगै कोम्यानले बाँकी ५ खेलमध्ये सबैभन्दा कठिन मानिएका खेल नै गुमाउने भएका छन् । जसमा आइतबार राति हुने भ्यालेन्सियाविरुद्धको खेल र त्यसपछि ३५औं सातामा हुने एथ्लेटिको मड्रिडविरुद्धको खेल पनि गुमाउनेछन् । बार्सिलोनाका लागि यी दुवै खेल बाँकी खेलमध्येका सबैभन्दा कठिन खेल मानिएको छ । जसमा भ्यालेन्सियासँगको खेल अवे मैदान र एथ्लेटिकोसँगको खेल आफ्नो मैदानमा हुनेछ ।

हाल लिगको अंक तालिकामा बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ । समान ७१ नै अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ भने ७३ अंक भएको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ । ७० अंक भएको सेभिल्ला चौथो स्थानमा रहेको छ । ताजा अवस्थामा शीर्ष ४ वटै टोली उपाधि दौडमा खुला छन् ।

प्रकाशित मिति १८ बैशाख २०७८, शनिबार ०५:३९
Loading...