ला लिगामा आज एथ्लेटिको मड्रिड र रियल मड्रिडको खेल हुँदै

काठमाडौं, वैशाख १८

स्पेनिस ला लिगामा फुबलमा आज विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये दुई महत्त्वपूर्ण खेल हुँदैछन् । यी दुई खेलमध्ये एकमा उपाधि होडमा रहेको लिग लिडर एथ्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल खेल्दैछन् । आजका यी दुवै खेल ज्यादै महत्त्वपूर्ण हुनेछन् ।

लिगमा अन्तिम ५ खेल मात्रै बाँकी रहेको अवस्थामा शीर्ष चारमा रहेका ४ वटै टोली उपाधि दौडमा करिब–करिब उस्तै अवस्थामा छन् । शीर्ष स्थानको टोली र अन्य टोलीबीच धेरै अंकको दूरी छैन । तसर्थ अबका ५ खेल हरेक टोलीका लागि फाइनलसरह हुनेछन् । हालकै स्थितिमा लिग लिडर एथ्लेटिको मड्रिड, दोस्रो स्थानको रियल मड्रिड, तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानको सभिल्लामध्ये जसले पनि उपाधि जित्ने सम्भावना खुला छ ।

हाल अंक तालिकामा समान ३३ खेल सकिँदाको स्थितिमा एथ्लेटिको मड्रिड ७३ अंकसहित शीर्ष स्थानमा रहँदा समान ७१–७१ अंक भएको रियल मड्रिड र बार्सिलोना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने सेभिल्लाको खातामा ७० अंक छ । अहिले एथ्लेटिको दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाभन्दा ठीक २ अंकले अघि छ भने चौथो स्थानको सेभिल्लाभन्दा ३ अंकले । युरोपका शीर्ष पाँच लिगमध्ये अहिले सबैभन्दा कडा प्रतिस्पर्धा ला लिगामै देखिएको छ ।

आज हुने खेलमध्ये पहिलो खेल साँझ ५ः४५ बजेबाट एइबार र अलाभेसबीच हुनेछ । यो खेल एइबारको घरेलु मैदानमा हुनेछ । दोस्रो खेलमा लिग लिडर एथ्लेटिको र १८औं स्थानको इल्चेबीच हुनेछ । यो खेल इल्चेको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ८ बजेबाट सुरु हुनेछ । एथ्लेटिको आज अवे मैदानमा खेल्दा कुनै पनि हालतमा स्पष्ट जितको खोजीमा हुनेछ ।

यसअघिको खेलमा एथ्लेटिक बिल्बाओसँग अवे मैदानमा हारेको एथ्लेटिको आजको खेल जितेर उपाधि होडमा यथावतै रहन चाहन्छ । यसअघि बिल्बाओसँग हार्दा उसको उपाधि होडमा ठूलो धक्का लागेको थियो । तर, आज अवे मैदानमा इल्चेलाई हराएर एथ्लेटिको हातबाट फुत्किँदै गरेको लिगको उपाधि होडमा कायमै रहन चाहन्छ । तसर्थ आज अवे मैदानमा उत्रिँदा लिग लिडर टोली ठूलो दबाबमा हुनेछ ।

यदि आज अवे मैदानमा यो खेल हारे यसको सोझो फाइदा दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनालाई पुग्नेछ । बराबरी भएको अवस्थामा रियल आजै राति आफ्नो खेल जितेर एथ्लेटिकोलाई पछि पार्दे लिगको शीर्ष स्थानमा चढ्नेछ । तसर्थ, आज एथ्लेटिको यो खेल खेल्दा जितका लागि सबैखाले संघर्ष गर्नेछ । अन्यथा उसको उपाधि दौड ठूलो संकटमा धकेलिनेछ ।

यता, आज हुने अर्को खेलमा हुएस्का र रियल सोसिडाड राति ठीक १०ः१५ बजेबाट खेल्नेछन् । यो खेल हुएस्काको घरेलु मैदानमा खेल्नेछ । आजको अन्तिम खेलमा रियल मड्रिड र ओसासुनाको खेल हुनेछ । यो खेल रियलको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । रियल आज यो खेल जित्दै उपाधिको दौडमा कायमै रहन चाहन्छ । यदि अजको खेलमा एथ्लेटिकोले अंक गुमाएको खण्डमा रियल त्यसपछि आफ्नो खेल जितेर फाइदा लिने दाउमा छ ।

प्रकाशित मिति १८ बैशाख २०७८, शनिबार ०४:४३
Loading...