कोउटिन्हो एभर्टन अनुबन्ध नजिक : ट्रान्सफर फी सुन्दा पत्याउनै मुस्किल !

एजेन्सी, वैशाख १७

स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्ले मेकर फिलिपे कोउटिन्हो इंग्लिस प्रिमियर लिग फर्किने सम्भावना बढेको छ । उनलाई एभर्टनले अनुबन्ध गर्न बार्सिलोनासँग आन्तरिक छलफल अघि बढाएको छ । स्पेन र इंग्ल्यान्डका सबैजसो खेल मिडियाले यो विषयमा रिपोर्ट छाप्दै कोउटिन्हो नयाँ सिजनमा एभर्टनका खेलाडी हुने दाबी गरेका छन् । २८ वर्षका ब्राजिलियन मिडफिल्डर कोउटिन्हो लामो समयदेखि नै चोटसँग जुधिरहेका छन् । उनले यो सिजनका अन्तिम केही खेल खेल्ने सम्भावना छ । बार्सिलोनाले उनलाई नयाँ सिजनमा क्लबमा नराख्ने पक्काजस्तै छ । बार्सिलोेनामा उनको भविष्य अनिश्चित बनेका बेला एभर्टनका प्रशिक्षक कार्लेस एन्सेलोट्टीले कोउटिन्हो अनुबन्ध गर्न अघि बढेका हुन् ।

कोउटिन्हाले अघिल्लो सिजन जर्मन क्लब बार्यन म्युनिखमा लोनमा बिताएका थिए । त्यहाँ उनले एक सिजनमा च्याम्पियन्स लिगसहित ह्याट्रिक उपाधि जिते छ । च्याम्पियन्स लिगमा बार्यनले बार्सिलोनालाई बहुचर्चित ८–२ को बेइज्जतीपूर्ण हार खुवाउँदा कोउटिन्होले दोस्रो हाफमा बेन्चबाट मदान छिरेर पनि मात्रै १५ मिनेटमा २ गोल र १ असिस्ट गरेर सनसनी मच्चाएका थिए ।

त्यहाँ एकवर्षे लोन अवधि सकिएपछि उनी बार्सिलोना फर्किएका थिए । तर, त्यहाँ सिजन मध्यभागमा नपुग्दै उनले गम्भीर चोट बोकेपछि यो सिजनको धेरै समय उनले हस्पिटल र घरमै आराम गरेर बिताए । तर, यो सिजनका अन्तिम २–३ खेल खेल्नका लागि उनी मैदान फर्किन सक्ने सम्भावना रहेको बताइन्छ । यो सिजन उनले मात्रै १४ खेल खेलेर ३ गोल गरेका छन् ।

रणनीतिक प्रशिक्षकका रूपमा परिचित एन्सेलोट्टीले कोउटिन्होलाई समर सिजनमा अनुबन्ध गरेर आफ्नो टोलीलाई थप बलियो बनाउन चाहेका छन् । गत समरमा उनकै योजनामा क्लबले स्पेनका रियल मड्रिडबाट हामेस रोड्रिग्वेजलाई अनुबन्ध गरेको थियो । रियलमा खेल्नै नपाएका उनी अहिले एभर्टनमा लगातार चम्किरहेका छन् । अहिले एन्सेलोट्टीले कोउटिन्होलाई पनि अनुबन्ध गर्न लागेका हुन् ।

विभिन्न रिपोर्टहरूअनुसार एभर्टनले बार्सिलोनालाई कोउटिन्होको सरुवा फीबापत मात्रै ३५ मिलियन पाउन्ड दिने प्रस्ताव गरेको छ । ‘ट्रान्सफर मार्केट’का अनुसार अहिले उनको मार्केट भ्यालु ४० मिलियन युरो छ । एभर्टन सोही मूल्य खर्चेर उनलाई अनुबन्ध गर्न चाहन्छ । स्मरण रहोस्, बार्सिलोनाले उनलाई सन् २०१८ को जनवरी विन्डोमा १६० मिलियन युरोमा अनुबन्ध गरेको थियो । अहिले एभर्टन उनी बार्सिलोना अनुबन्ध भएको मूल्यभन्दा १२० मिलियन कममा भित्र्याउने दौडमा छ ।

ब्राजिलका २८ वर्षीय खेलाडी अट्याकिङ मिनडफिल्डमा निकै असरदार खेलाडी हुन् । लिभरपुलमा छँदा प्रिमियर लिगकै नम्बर वान मिडफिल्डर रहेका उनी बार्सिलोना गएपछि चम्किन सकेनन् । प्रशिक्षकले उनलाई महत्त्वसाथ योजनामा राखेनन् भने पाएको थोरै समयमा उनले आफूलाई साबित गर्न पनि सकेनन् । यतिसम्म कि, कुनैबेला त उनी लागतार ९ खेलसम्म बेन्चमै रहनु परेको थियो । जसका कारण स्पेनमा उनको भविष्य झनै खराब बन्यो । यसरी खेल्नै नपाएपछि उनले लोनमै भए पनि बार्यन जाने निर्णय गरेका थिए ।

कोउटिन्होले बार्सिलोनामा हालसम्म तेस्रो सिजन बिताउनेक्रममा कूल ९० खेल खेल्दै २४ गोल गरेका छन् । उनले बार्यनमा एक वर्ष लोनमा बिताउँदा ३८ खेलबाट कूल ११ गोल गरेका थिए । लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध हुनुअघि उनले अन्तिम सिजनमा मात्रै २० खेलबाट १२ गोल र ८ असिस्ट गरेका थिए, यो पनि आधा सिजनमा । किनभने, उनले लिभरपुल छाडेको सिजन आधा सिजन लिभरपुल र आधा बार्सिलोनामा खेलेका थिए ।

लिभरपुलमा छँदा अन्तिम सिजन आधा सिजन मात्रै खेल्दा पनि २० खेलबाट १२ गोल र ८ असिस्ट गरेका उनी बार्सिलोना पुगेपछि लगातार ओरालो लाग्न थाले । पर्याप्त मैदानमा खेल्ने समय नपाउनु र प्रशिक्षकले विश्वास नदेखाउँदा कोउटिन्होको बार्सिलोना सरुवा फ्लप नै बन्न पुग्यो । बार्सिलोनामा उनी जम्न नसक्नुको खास कारण पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई मानिन्छ । उनले नै सबै हिसाबले ठीकठाक रहेका कोउटिन्होलाई कुनै बेला ९ खेलसम्म लगातार बेन्चमा राखेर ‘बार्सिलोनामा तिम्रो भविष्य छैन’ भन्ने सन्देश स्पष्टै रूपमा दिएका थिए ।

स्पेनिस मिडियाका अनुसार कोउटिन्हो अब फिट भएर आए पनि रोनाल्ड कोम्यानको योजनामा नपर्ने बताइन्छ । बार्सिलोनामा युवा खेलाडीले प्रभाव जमाइरहेका बेला क्लब उनलाई बेचेर नयाँ खेलाडी अनुबन्ध गर्ने पैसा बटुल्न चाहन्छ । नयाँ सिजनमा कोम्यानको योजनामा उनी नरहेकाले पनि कोउटिन्होले नयाँ सिजनमा नयाँ क्लबको जर्सीमा खेल्ने करिब पक्काजस्तै देखिन्छ ।

स्मरण रहोस्, कोउटिन्हो बार्सिलोनाको इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन् । कोउटिन्होअघि बार्सिलोनाले कुनै पनि खेलाडी अनुबन्ध गर्न १६० मिलियन युरो खर्च गरेको थिएन । उनीपछि दोस्रो महँगा खेलाडी फरवार्ड एन्टोनी ग्रीजम्यान हुन् । उनलाई बार्सिलोनाले दुई वर्षअघि १२० मिलियन युरोमा एथ्लेटिको मड्रिडबाट भित्र्याएको थियो ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ११:११
Loading...