युरोपा लिग सेमिफाइनल : रोमाको पोस्टमा युनाइटेडद्वारा गोलको वर्षा !

काठमाडौं, वैशाख १७

युरोपा लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । गत राति भएको सेमिफाइनलको पहिलो लेगको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदानमा पाहुना टाली इटालियन क्लब रोमालाई ६–२ को फराकिलो अन्तरमा स्तब्ध बनायो ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र इडिन्सन काभानीले २–२ गोलको योगदान दिए भने पाउल पोग्बा र मासोन ग्रीनउडले पनि १–१ गोल गरे । युनाइटेडका लागि खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले बक्स भित्रबाट सहजै गोल गरेका थिए । तर, त्यसपछि रोमाले लगातार २ गोल गरेर खेलमा अग्रता बनाएको थियो ।

१५औं मिनेटमा रोमाले पेनाल्टी पायो, जसमा लोरेन्जो पेलेग्रेनीले गोल गर्दै खेल बराबरी बनाउँदा ३३औं मिनेटमा इडिने जेकोले गोल गरेपछि युनाइटेड पहिलो हाफमा आफ्नै घरमा १–२ ले पछि पर्न गयो । तर, दोस्रो हाफमा युनाइटेडले आक्रामक खेल खेल्दै थप ४ गोल थपेर फराकिलो जित हात पार्न सफल भयो ।

दोस्रो हाफ सुरु भएको ३ मिनेटमै काभानीले गोल गरेर खेल बराबरी बनाए । त्यसपछि ६४औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई ३–२ को अग्रता दिलाए । त्यसपछि ७१औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गरे भने ७५औं मिनेटमा पोग्बाले गोल गरे । फेरि ८६औं मिनेटमा ग्रीनउडले गोल गरेपछि खेल युनाइटेडले ६–२ ले जित्यो ।

अब यो जितसँगै युनाइटेड युरोपा लिगको फाइनल पुग्ने करिब–करिब पक्का भएको छ । अब रोमाको घरेलु मैदानमा ऊमाथि कुनै दबाब हुनेछैन । किनभने, ऊसँग अहिले नै ४ गोलको अन्तर छ । यता, रोमालाई भने आफ्नो घरमा दोस्रो लेग खेल्दा कम्तीमा पनि ४–० को एकपक्षीय जित आवश्यक पर्छ । दोस्रो लेग मे ७ मा हुनेछ ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ०२:२१
Loading...