संकटमा युभेन्टस : च्याम्पियन्स लिगमा छनौट नै नहुने खतरा, यस्तो छ अबको अंकगणित

एजेन्सी, वैशाख १६

इटालियन सिरी ए लिग लगातार नवौंपटक जितेर इतिहास रचेको क्लब युभेन्टस यो सिजन निकै खराब स्थितिमा छ । यस सिजन लगातार १०औं पटक लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेकोे उसको सो सपना अन्तिम ५ खेल बाँकी छँदै खरानी भइसकेको छ । किनभने, ऊ अब उपाधि होडमा छैन । इन्टर मिलान अबका दुई जितपछि च्याम्पियन बन्नेछ ।

युभेन्टस यतिबेला यस्तो कठिन अवस्थामा छ कि, सिजन सकिँदा ऊ शीर्ष चारमा रहेर अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनौट नै नहुने जोखिमसामु छ । लिगमा अन्तिम ५ खेल मात्रै बाँकी रहेको अवस्थामा युभेन्टसको शीर्ष चार जोखिमपूर्ण छ, सुरक्षित देखिँदैन । बाँकी खेलमा लगातार राम्रा नतिजा प्राप्त नहुने हो भने युभेन्टसले आगामी सिजन च्याम्पियन्स लिग होइन, युरोपा लिग खेल्नेछ ।

ताजा अवस्थामा युभेन्टस ३३ खेलपछि कूल ६६ अंकका साथ चौथो स्थानमा छ । लिगमा अहिले दुई टिमबाहेक सबैले ३३ खेल खेलिसेकका छन् । अहिले पाँचौं स्थानको एसी मिलान, चौथो स्थानको युभेन्टस, तेस्रो स्थानको नापोली सबैको खातामा समान ६६–६६ अंक छ । यी सबैले ३३ खेल खेलेका छन् । दोस्रो स्थानमा एटलान्टा छ, उसको खातामा ६८ अंक छ ।

ताजा अवस्थामा उपाधि नजिक रहेको इन्टर मिलानको खातामा ३३ खेलपछि ७९ अंक छ । उसलाई अब उपाधि जित्नका लागि मात्रै दुई जित आवश्यक छ । आगामी दुई खेल जिते उसले यो सिजनको उपाधि उचाल्नेछ । अहिले इन्टरभन्दा युभेन्टस ठीक १३ अंकले पछि परेको छ । यो ज्यादै ठूलो अन्तर हो । अहिलेको अवस्थामा युभेन्टसको लक्ष्य कम्तीमा चौथो स्थानमा रहेर सिजन पूरा गर्नु हो ।

दोस्रो स्थानको एटलान्टाभन्दा तेस्रो स्थानको नापोली, चौथो स्थानको युभेन्टस र पाँचौं स्थानको युभेन्टस ठीक २ अंकले मात्रै पछि छन् । यी ४ टोलीमध्ये मात्रै ३ टिम शीर्ष चारमा रहने हुँदा उनीहरूबीच बाँकी खेलमा कडा प्रतिस्पर्धा हुनेछ । बाँकी खेलले यी ३ टोलीको साथै दोस्रो स्थानको एटलान्टामध्ये कुन–कुन ३ टिमले शीर्ष चारमाा स्थान पक्का गर्छन् भन्ने कुरा निर्भर गर्नेछ ।

पछिल्ला खेलहरूको प्रदर्शन र नतिजालाई हेर्ने हो भने अहिले सबैभन्दा खतरामा युभेन्टस छ । पछिल्ला खेलबाट उसले लगातार अंक मात्रै गुमाएको छैन, प्रदर्शनको लय पनि गुमाउँदै आएको छ । यदि यही अवस्था कायम रहे र अबका खेलमा पनि अंक गुमााए युभेन्टसलाई अन्य टिमले सजिलै चौथो स्थानभन्दा तल युरोपा लिगको क्षेत्रतिर चिप्लाउने पक्का छ । त, युभेन्टसले आफ्नो अवस्थामा सुधार गर्दै बाँकी खेलमा लगातार राम्रो गर्न सके उसलाई शीर्ष चारमा रहन समस्या पनि पर्दैन ।

किनभने, अब लिगका बाँकी ५ खेलमा युभेन्टसले हाल शीर्ष ६ मा रहेका टोलीविरुद्ध पनि खेल्नेछ । आफूभन्दा अगाडि रहेका टिमलाई हराउन सके युभेन्टस चौथो मात्रै नभएर दोस्रो स्थानमा रहेर पनि सिजन पूरा गर्न सक्छ । तर, त्यसका लागि उसले बाँकी खेलमा राम्रो नतिजा निकाल्नुपर्छ । युभेन्टस यो सिजन सकिँदा कहाँ रहन्छ भन्ने कुरा उसका आगामी खेलले देखाउनेछ ।

किनभने, बाँकी खेलमध्ये युभेन्टसका दुई खेल बलिया टोलीसँग छन् । जसमा उसले ३५औं सातामा एसी मिलानको सामना गर्नेछ भने ३७औं सातामा लिग लिडर इन्टर मिलानको सामना गर्नेछ । शीर्ष चारमा रहन युभन्टसले यी दुई ठूला खेलमा अझ एसी मिलानलाई त हराउनैपर्छ । यसी मिलानलाई हराउन सके युभेन्टसको दबाब कम हुनेछ । यता, बाँकी खेलमध्ये युभेन्टसबाहेक शीर्ष चारमा रहेका अन्य टिमले पनि केही कठिन खेल्न खेल्ने हुँदा ती टिमको नतिजाले पनि युभेन्टसको भविष्य निर्धारण गर्नेछ । युभेन्टसका आगामी खेल यी हुन्–

३४औं साता – उडिनेस भर्सेस युभेन्टस (अवे)
३५औं साता – युभेन्टस भर्सेस एसी मिलान (होम)
३६औं साता – सासुओलो भर्सेस युभेन्टस (अवे)
३७औं साता – युभेन्टस भर्सेस इन्ट मिलान (अवे)
३८औं साता – बोलोग्ना भर्सेस युभेन्टस (अवे)

प्रकाशित मिति १६ बैशाख २०७८, बिहीबार ११:५६
Loading...