च्याम्पियन्स लिग सेमिफाइनल : रियल मड्रिड र चेल्सीले बराबरी खेले

काठमाडौं वैशाख १५

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पहिलो सेमिफाइनल खेलअन्तर्गत पहिलो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । नेपाली समयअनुसार बुधबार बिहान भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको हो । खेलमा भएका २ वटै गोल पहिलो हाफमा भएका हुन् ।

पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै टोलीबाट थप गोल भएन । जिनेदिन जिदानको टोलीले आफ्नै घरमा पहिला गोल खाएर पछि खेलमा फर्किएको थियो । पाहुना टोली चेल्सीका लागि खेलको १४औं मिनेटमै क्रिस्टिएन पुलिसिचले सुन्दर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

रियलको बक्समा उनले चलाखीपूर्वक गोलकिपर थिबाउट कोर्टुवालाई बिट गर्दै गोल गरेका थिए । गोलकिपरलाई बिट गरेर उनले हानेको छोटो दूरीको प्रहारले ३ जना डिफेन्डरलाई जिल्ल बनाउँदै जाली चुमेको थियो । उनको प्रहारमा रियलका गोलकिपरले कुनै मौका नै पाएनन् ।

त्यसपछि चर्को दबाबमा परेको रियल खेलको २९औं मिनेटमा खेलमा फर्कियो । फ्रेन्च फरवार्ड करिम बेन्जेमाले भलीमा उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काए । कर्नर किकबाट बनेको मुभमा बेन्जेमाले बक्स भित्रबाट गोल गरेका थिए । डिफेन्डर इडर मिलिटाओले पोस्ट अगाडि दिएको हाई पासमा उनले पहिला छातीले बल नियन्त्रणमा लिए अनि बुलेट भली सटमा बललाई जाली चुमाए । उनको कडा प्रहारमा चेल्सीका गोलकिपर मेन्डीले बल कताबाट आयो भनेर पत्तो समेत पाएनन् ।

पहिलो हाफमा पाहुना टोली चेल्सीले रियलमाथि चर्कै दबाब बनाएर खेल्यो । उसले कूल ६ पटक आक्रमणको मुभ बनाउँदा ३ पटक सही दिशामा हान्यो । यता, रियल भने आफ्नै घरमा पहिलो हाफमा दबाबमा देखियो । उसले ३ पटक मात्रै मुभ बनाएर एक सट सही दिशामा हान्न सफल भयो, जसमा उसले गोल पनि निकाल्यो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोली विजयी गोलको खोजीमा थिए । तर, ४५ मिनेट र ३ मिनेटको इन्जुरी समयमा समेत गरी दुवै तर्फबाट गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो । अब फाइनल पुग्ने टोलीको टुंगो दोस्रो लेगको खेलबाटै लाग्ने भएको छ । दोस्रो लेग अर्को साता चेल्सीको घरेलु मैदानमा हुनेछ ।

पहिलो लेगको खेलमा घरेलु टोली रियलले खेलभरिमा कूल ९ सटक हान्दा मात्रै एक सट अन टार्गेट हानेको थियो । उसले ५१ प्रतिशत बल आफ्नो पकडमा राख्यो भने कूल ५८२ सफल पास खेलेको थियो । यता, पाहुना टोली चेल्सीले रियलको आक्रामक खेल खेल्दै कूल ११ सट हान्यो भने त्यसमध्ये ५ सटक अन टार्गेट हान्यो । उसले ४९ प्रतिशत बल आफ्नो पक्षमा राख्दै ५६२ सफल पास खेलेको थियो ।

प्रकाशित मिति १४ बैशाख २०७८, मंगलवार २०:४६
Loading...