फाइनल हारेपछि मैदानमै रोए सन ……… (तस्बिर र भिडियो)

काठमाडौं, वैशाख १३

इंग्लिस काराबाओ कप फुटबलमा गत राति म्यानचेस्टर सिटीले लिग प्रतिस्पर्धी टोटनह्यामलाई हराएर आठौंपटक उपाधि जित्यो । उसले लगातार चौथोपटक र समग्रमा आठौंपटक यो उपाधि जित्दा टोटनह्याम भने स्तब्ध बन्यो । सिटीले खेलको अन्तिम समयमा गोल गर्दै १–० को अन्तरमा खेल जितेर उपाधि पोल्टामा पार्न सफल भयो ।

आफ्नो घरेलु मैदान वेम्बली रंगशालामा टोटनह्यामको टोलीमा ह्यारी केन, ग्यारेथ बेल, सन हेङ मिनसहितका खेलाडी उत्रिए पनि उपाधि रक्षा गर्न सकेनन् । ८२औं मिनेटमा गोल खाएपछि केन र सनको टोटनह्यामको पहिलो उपाधि जित्ने सपना पनि चकनाचुर भयो । अघिल्लो वर्ष पनि टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग पराजित भएको थियो ।

गत राति घरेलु मैदानमा उपाधि भिडन्तमा हारेपछि टोटनह्यामका स्टार फरवार्ड सन ठूलो पीडामा देखिए । हारपछि उनले आँसु थाम्न सकेनन् । र, मैदानमै रोए । जब खेल सकिएको सिठ्ठी बजेपछि सिटीका खेलाडी खुसीयाली मनाउन थाले, सन भने मैदानमा घुँडा टेकेर रुन थाले । उनका आँखाबाट आँसु छल्किएर झरिरहेका थिए । उनी निकै स्तब्ध बनेका थिए ।

जब सन रुन थाले, सहकर्मी ग्यारेथ बेल छेउमै आएर उनलाई सम्हाल्न थाले । पालैपालो अन्य सहकर्मी आए । र, सनलाई सम्हालिन अनुरोध गरे । त्यत्ति मात्रै हैन, विपक्षी टिम सिटीका खेलाडीहरूले पनि सनलाई भेटेर सान्त्वना दिँदै अंकमाल गरे । सम्हालिन भने । केभिन डे ब्रुयाने, वाल्कर, बर्नान्डो सिल्भा, फिल फोडेन, इकाए गुन्डोवान सहितका खेलाडीले सनलाई भेटेर प्रेम दर्शाए, सान्त्वना दिए ।

उपाधि गुमेपछि निकै भावविह्वल देखिएका सन रोएको तस्बिर र भिडियो मिडियाका क्यामेरामा कैद भए । अहिले थुप्रै फ्यानले उनको तस्बिर र भिडियो सेयर गर्दै दुःख व्यक्त गरेका छन् । उनीहरूले सनलाई धैर्य राख्न अनुरोध गर्दै अर्को सिजनका लागि प्रतीक्षा गर्न पनि अनुरोध गरेका छन् ।

सन टोटनह्यामका एक प्रमुख खेलाडी हुन् । ७ नम्बर जर्सी लगाउने उनी यो सिजन उच्च लयमा थिए । उनले हालसम्म कूल ४४ खेल खेल्दै २० गोल र १२ असिस्ट गरेका छन् । उनी क्लबमा दोस्रो सर्वाधिक गोलकर्ता हुन् । सन् २०१५ देखि लगातार टोटनह्याममा खेलिरहेका छन् । उनले हालसम्म क्लबका लागि २७५ खेलबाट १०५ गोल गरेका छन् । तर, उनले आजसम्म कुनै पनि उपाधि जित्न सकेका छैनन् । उनीसहितको टिम दुईपटक फाइनल पुगे पनि दुवैपटक पराजित भयो ।

फाइनलमा पराजित भएपछि सन यसरी आँसुसरि बनेका थिए:

फाइनलमा पराजित भएपछि सन यसरी आँसुसरि बनेका थिए:

सनलाई सान्त्वना दिँदै सहकर्मी:

सनलाई सान्त्वना दिँदै विपक्षी खेलाडीहरू:

सनलाई सान्त्वना दिँदै सहकर्मी र विपक्षी खेलाडीहरू:

सनलाई सान्त्वना दिँदै सिटीका डे ब्रुयाने भिडियोमा हेरौं:

प्रकाशित मिति १३ बैशाख २०७८, सोमबार ०५:१४
Loading...