ग्रीजम्यानको प्रदर्शनदेखि कोम्यान मक्ख : ‘दोस्रो मेस्सी’ भन्दै यसरी गरे प्रशंसा

काठमाडौं, वैशाख १३

स्पेनिस क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानको दिल खोलेर प्रशंसा गरेका छन् । गत राति बार्सिलोनालाई लिगको ३२औं साताको खेलमा भिल्लारियलविरुद्ध अवे मैदानमा १–२ को कमब्याक जित निकाल्नेक्रममा २ गोल गर्दै नायकको भूमिका खेलेका थिए । ग्रीजम्यानकै गोलको मदतमा बार्सिलोनाले महत्त्वपूर्ण खेल जित्दै ३ अंक जोडेको थियो ।

बार्सिलोना खेलमा पछि परेको स्थितिमा कमब्याक जिताउन दिलाउनेक्रममा ग्रीजम्यानले खेलको २८औं मिनेट र ३५औं मिनेटमा गरी २ गोल गरेका थिए । यसअघिको खेलमा पनि उनले १ गोल गरेका थिए । जारी सिजन उनले ला लिगामा ३० खेलबाट कूल ११ गोल गर्दै ६ गोलमा असिस्ट गरेका छन् । उनी अहिले क्बलमा मेस्सीपछिका सर्वाधिक गोलकर्ता हुन् । बार्सिलोनामा पहिलो सिजन निकै खराब तरिकाले बिताएका ग्रीजम्यान यो सिजन उच्च लयमा रहेका छन् ।

गत रातिको खेलपछि मिडियासँग कुरा गर्दै डच म्यानेजर कोम्यानले ग्रीजम्यानले यो सिजन टिमलाई महत्त्वपूर्ण योगदान दिएर सघाइरहेको बताए । ग्रीजम्यानजस्तो खेलाडी बार्सिलोनालाई सधैं चाहिने उनको भनाइ थियो । ‘ग्रीजम्यानजस्ता खेलाडी हामीलाई आवश्यक पर्छ । आज उनले जे गरे, त्यो मूल्यवान् हो । उनले टिमलाई अघि बढाउन ठूलो योगदान दिइरहेका छन्,’ कोम्यानले भने, ‘म उनको प्रदर्शनबाट एकदमै खुसी छु । उनले हरेक खेलमा झन्–झन् राम्रो गर्दै लगिरहेका छन् ।’

बार्सिलोना ला लिगाको उपाधि होडमा फर्किनुमा ग्रीजम्यानको ठूलो योगदान रहेको भन्दै कोम्यानले अहिले उनी ‘दोस्रो मेस्सी’को भूमिकामा रहेको बताए । ‘जतिबेला हामी लिगमा खराब अवस्थामा थियौं, टिमलाई त्यसबाट पार लगाएर यहाँसम्म ल्याउन ग्रीजम्यानले दोस्रो मेस्सी बनेर प्रदर्शन गरिरहेका छन् । किनभने, उनले महत्त्वपूर्ण खेल र समयमा गोल गरे टिमलाई सघाए,’ कोम्यानले भने, ‘पछिल्ला खेलमा गरेका गोलले उनको मनोबल बढाएको छ । मलाई विश्वास छ, उनले आगामी खेलमा ह्याट्रिक गर्नेछन् ।’

यससअघि गेटाफेविरुद्धको खेलमा कप्तान लिओनल मेस्सीले अन्तिम समयमा पाएको पेनाल्टी ग्रीजम्यानलाई दिएका थिए, जसमा उनले गोल पनि गरे । २ गोल गरिसकेको अवस्थामा मेस्सी आफैंले पेनाल्टी प्रहार गर्दै ह्याट्रिक पूरा गर्न सक्थे । तर, उनले पेनाल्टी आफैं हानेन् । पेनाल्टीको अवसर सिर्जना गर्ने ग्रीजम्यानलाई प्रहार गर्न दिए । गत रातिको खेलपछि कोम्यानले सो विषय सम्झिँदै दुवै खेलाडीको प्रशंसा गरे ।

‘गेटाफेविरुद्ध मेस्सीले ह्याट्रिक गोलको अवसर छाडेर ग्रीजम्यानलाई पेनाल्टी दिए, त्यो निकै सुन्दर कुरा थियो । मेस्सीबाट पाएको पेनाल्टीमा गोल गरेपछि ग्रीजम्यानको आत्मविश्वास बढेको छ । पेनाल्टी छाड्ने मेस्सीको निर्णयले मलाई खुसी बनायो । उनी सर्वोत्कृष्ट खेलाडी मात्रै हैनन्, निःस्वार्थी खेलाडी पनि हुन्,’ कोम्यानले भने, ‘मेस्सीले यस्तो गरेको यो नै पहिलोपटक होइन । यो उनको महानता हो ।’

प्रकाशित मिति १३ बैशाख २०७८, सोमबार ०२:०१
Loading...