टोटनह्यामलाई हराउँदै सिटीले जित्यो काराबाओ कपको उपाधि

काठमाडौं, वैशाख १२

इंग्लिस क्लब म्यानचेस्टर सिटीले जारी सिजन २०२०–२१ अन्तर्गत नकआउट क्लब फुटबल प्रतियोगिता काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ । आज आइतबार राति भएको फाइनल खेलमा सिटीले प्रिमियर लिगको प्रतिस्पर्धी टोटनह्यामाथि १–० को संघर्षपूर्ण जितका साथ उपाधि पोल्टामा पारेको हो ।

टोटनह्यामको घरेलु मैदान वेम्बली रंगशालामा भएको फाइनल खेलमा सिटीले १ मात्रै विजयी गोल खेलको अन्तिम समयमा गरेको थियो । खेलमा सिटीले एकपक्षीय पकड राखे पनि उसलाई गोलका लागि ८२औं मिनेटसम्म लड्नु परेको थियो । जहाँ युवा खेलाडी एमेरिच लापोर्टेले हेडिङमार्फत गोल गरेर टिमलाई लिड दिएका थिए ।

प्ले मेकर केभिन डे ब्रुयानेले मैदानको माथिल्लो क्षेत्रबाट हानेको फ्रि किक प्रहारमा बक्समा तैनाथ रहेका लापोर्टेले फ्रि हेडरमा कुनै गल्ती नगरी बललाई सोझै जाली चुमाए । उनको कडा हेडिङ टोटनह्यामका गोलकिपरले रोक्ने मौका नै पाएनन् । सो गोल खाएपछि टोटनह्याम खेलमा फर्किन सकेन । र, उपाधि सिटीले १–० को नतिजाका साथ जित्यो ।

यससँगै सिटीले यो सिजनको पहिलो उपाधि जित्न सफल भएको छ । सिटीका लागि यो कीर्तिमानी उपाधि हो । ऊ अब यो उपाधि सर्वाधिक ८ पटक जित्ने एक्लो टिम बनेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले लगातार कपको उपाधि जितेको हो । पेपले सिटी सम्हालिकन उनले पाँचौंपटक यो उपाधि जिताएका हुन् ।

प्रकाशित मिति १२ बैशाख २०७८, आईतवार १७:४१
Loading...