पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय : अरू कुन–कुन क्षेत्र बन्द हुन्छन् ?

काठमाडौं वैशाख १२

नेपाल सरकारले देशभरका विद्यालय तथा विभिन्न शैक्षिक संस्थाहरूका पूर्व निर्धारित सबैखाले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । यो निर्णय देशैभरि लागू हुनेछ ।

कोरोनाको बढ्दो त्रासबीच भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सिसिएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला सहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

तर, परीक्षाका नाममा भीडभाड भएको भन्दै सिसिएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारले यो निर्णय र आदेश देशैभरि लागू गर्न र उच्च सावधानी अपनाउन भनेको छ ।

अन्य सिफारिस के–के छन् ?

बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र सहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा केन्द्रले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

त्यसैगरी, हवाई आवागमनबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि पनि सिफारिस गरेको छ । ट्रान्जिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न पनि सिफारिस भएको छ । तर, यी सिपारिस भएका यी विषयमा भने सरकारले निर्णय भने गरिसकेको छैन ।

प्रकाशित मिति १२ बैशाख २०७८, आईतवार १६:४९
Loading...