रियल मड्रिडद्वारा ला लिगाको उपाधि एथ्लेटिको र बार्सिलोनालाई जिम्मा : बेटिससँग रोकियो

काठमाडौं, वैशाख १२

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको रियल मड्रिडको उपाधि होड सम्भवतः अब सकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको ३३औं साताको खेलमा रियल मड्रिड आफ्नै घरेलु मैदानमा छैटौं स्थानको रियल बेटिससँग गोलरहित ०–० को बराबरीमा रोकिँदा उसको उपाधि होड करिब–करिब सकिएको हो ।

रियलको टिम ‘बि’को घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको खेलमा रियल मड्रिड खेलभरि नै गोलविहीन बन्नुपर्दा उसले उपाधि होडमा आवश्यक महत्त्वपूर्ण जित हाँसिल गर्न सकेन । तुलनात्मक रूपमा कमजोर टोलीसँग घरेलु मैदानमा गोलविहीन बराबरी खेलेर २ अंक गुमाउनु परेपछि जिनेदिन जिदानको टोली अब ठूलो संकटमा धकेलिएको छ ।

यस खेलमा जिदानले इडेन हाजार्डलाई खेलको ७६औं मिनेटमा मैदान प्रवेश गराएका थिए । त्यसअघि फ्रन्ट लाइनमा करिम बेन्जेमा, रोड्रिगो, मार्को एसेन्सियो, इस्को, लुका मोड्रिच, कासेमिोसहितका प्रमुख खेलाडी उतारे पनि रियलले घरेलु मैदानमा बेटिसको रक्षापंक्ति तोड्न नसक्दा निराश बन्नु परेको हो ।

अब यो बराबरीपछि रियल मड्रिडले लिगको शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ । यो खेल जितेको भए ऊ शीर्ष स्थानमा चढ्ने थियो । रियल अब ३३ खेलपछि ७१ अंकका साथ दोस्रो स्थानमा रहेको छ । रियलको बराबरीले सबैभन्दा सोझो फाइदा एथ्लेटिको मड्रिडलाई पुगेको छ । किनभने, एथ्लेटिकोले रियलको भन्दा एक खेल कम खेलेको अवस्थामा पनि ७३ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल हातमा बाँकी छँदा एथ्लेटिको अब रियलभन्दा सपष्ट २ अंकले अघि छ । बाँकी एक खेल जिते ऊ ५ अंकले अघि हुनेछ । यता, बार्सिलोना ३१ खेलपछि ६८ अंकका साथ तेस्रो स्थानमा छ । रियकाले यो बराबरीको फाइदा अब सबैभन्दा बढी एथ्लेटिको र त्यसपछि बार्सिलोनालाई पुगेको छ ।

प्रकाशित मिति ११ बैशाख २०७८, शनिबार २०:४०
Loading...