जर्सीको व्यापार स्वाहा : रोनाल्डो हिँडेपछि रियल मड्रिडको जर्सी बिक्नै छाड्यो

एजेन्सी, वैशाख ११

पाँचपटकका बालोन डिओर विजेता तथा दुई अन्तर्राष्ट्रिय उपाधि विजेता पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाम आज पनि फुटबल जगतमा एक ब्रान्ड नाम हो । उनको नामको ब्रान्ड मूल्य अनुमान गर्न पनि सकिँदैन । उनी समाहित टिम क्लब होस् वा देश, उनको जर्सी बेचेरै उनीहरूले अपत्यारिलो पैसा कमाउँछन् ।

जस्तो कि, सन् २०१८ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएपछि इटालीमा औपचारिक रूपमा सार्वजनिक हुने दिनै नै युभेन्टसले रोनाल्डोको ७ नम्बर जर्सी बेचेर कीर्तिमानी पैसा कमायो । युभेन्टसले अरू बेला एक वर्षमा जति जर्सी बेच्न सक्थ्यो, रोनाल्डो सार्वजनिक भएको दिन मात्रै युभेन्टसले ७ नम्बर जर्सी मात्रै त्यो भन्दा बढी पिस बेचेर रेकर्ड बनाएको थियो ।

त्यसयता रोनाल्डोको जर्सी युभेन्टसले कति बेच्यो कति, हिसाबै छैन । रोनाल्डोकै कारण युभेन्टसले जर्सीबाट र अन्य व्यापारिक प्रायोजनबाट अर्बौं पैसा कमाउँदै आएको छ । यसबाट थाहा हुन्छ, फुटबलको दुनियाँमा रोनाल्डोको नाम कति ठूलो हो भनेर । बेला–बेला सार्वजनिक विभिन्न तथ्यांक र रिपोर्टहरूले पनि यसबारे बताउने गरेका छन् ।

रोनाल्डो युभेन्टस पुगेपछि क्लबको व्यापार मात्रै बढेको छैन, क्लबका फ्यान पनि नाटकीय रूपमा बढेका छन् । रोनाल्डो पुगिकन युभेन्टसलाई विभिन्न सामाजिक सन्जालमा फलो गर्नेको संख्या ६०० प्रतिशतले बढेको देखिन्छ । यता, रोनाल्डोकै कारण अहिले क्लबको जर्सीको व्यापार पाँच गुणाले बढेको रिपोर्टहरू आउने गरेका छन् । यसरी रोनाल्डोकै कारण युभेन्टसले अहिले आफ्नो व्यापारमा नसोचेको छलाङ मारेको छ । अन्य ठूला व्यापारिक सम्झौताबाट हुने कमाइको त हिसाबै छैन ।

एक रिपोर्टअनुसार रोनाल्डोले रियल मड्रिड छाडेपछि सो क्लबको जर्सी बिक्रीमा ठूलो गिरावट आएको छ । चर्चित पत्रिका ‘मार्का’मा प्रकाशित समाचारअनुसार रोनाल्डोले २०१८ मा स्पेन छाडेपछि रियलको जर्सी व्यापारमा ७० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । रिपोर्टमा भनिएको छ– ‘क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि रियल मड्रिडको जर्सीको व्यापार ७० प्रतिशभन्दा बढीले घटेको छ, यसले क्लबलाई ठूलो आर्थिक नोक्सानी भएको छ ।’

रोनाल्डोले रियलमा ७ नम्बर जर्सी लगाउँथे । अहिले सो जर्सी इडेन हाजार्डले लगाउँछन् । त्यसअघि डियाज मारिआनोले केही समय लगाए । तर, रोनाल्डोले लगाएको जर्सीको शान मारिआनोले बोक्ने कल्पनै नगरौं, हाजार्डले पनि सक्ने नै भएन । रोनाल्डोको स्थानमा चेल्सीबाट भित्र्याएर ७ नम्बर जर्सी दिइएका हाजार्ड मैदानभन्दा बढी हस्पिटल र बेडमा बिताउँदै आएका छन् । अनि उनले लगाउने ७ नम्बर जर्सी बिकोस् पनि कसरी ?

प्रकाशित मिति ११ बैशाख २०७८, शनिबार १५:२८
Loading...