‘मेस्सीलाई गिज्याउने’ रोनाल्डोको यो तथ्यांक, जुन पत्याउन मुस्किल पर्छ !

काठमाडौं, वैशाख ११

हाल इटालियन क्लब युभेन्टसमा रहेका फरवार्ड क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीबीच विभिन्न कुरामा प्रतिस्पर्धा रहेको छ । यी दुई खेलाडीबीच परोक्ष रूपमा सन् २००४ पछि बाटै प्रतिस्पर्धा रहे पनि सन् २००९ बाट भने यी दुई जना ला लिगामा प्रत्यक्ष प्रतिस्पर्धा भएर खेले । रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म रियल मड्रिडबाट खेल्दा रोनाल्डो र मेस्सी सोझो प्रतिपक्षी बने । यस दौरान उनीहरूबीच हरेक कुरामा प्रतिस्पर्धा चल्यो ।

मेस्सीले राज गरिरहेको ला लिगामा पुगेर रोनाल्डोले तीनपटक गोल्डेन बुट र चारपटक बालोन डिओर जिते । टोलीका रूपमा दुई ला लिगा र चारपटक च्याम्पियन्स लिग जिते । तर, रोनाल्डोले सन् २०१८ मा इटालियन क्लब युभेन्टस जान रियल छाडे । त्यसदेखि यी दुई खेलाडीको सोझो प्रतिस्पर्धा सकियो । तर, अप्रत्यक्ष रूपमा आज पनि प्रतिस्पर्धा छ । रोनाल्डो रियल छाडेर हिँडेपछि मेस्सी र रोनाल्डो युरोपियन च्याम्पियन्स लिगमा जम्मा एकपटक आमनेसामने भएका छन् । जसमा मेस्सीसहितको बार्सिलोनाले रोनाल्डोसहितको युभेन्टसले ३–० को स्तब्ध बनायो ।

फुटबलको तथ्यांक संकलन गर्ने चर्चित संस्था ‘ओप्टा’ ले एक तथ्यांक प्रकाशित गरेको छ । सो तथ्यांकमा रोनाल्डोले सन् २०१८ मा रियल छाडेपछि कसले चाहिँ ला लिगाका टप–३ क्लबविरुद्ध बढी गोल गरेको छ भने उल्लेख छ । यो केही रोचक र अपत्यारिलो लाग्छ । किनभने, २०१८ मै रियल छाडेपछि रोनाल्डाले ला लिगाका टिमविरुद्ध गोल गर्ने कुरै भएन । तर, मेस्सी लगातार ला लिगामै छन् । यो अवस्थामा दुई जनाले ला लिगामा शीर्ष तीन टोलीविरुद्ध गरेको गोल संख्यालाई कसरी तुलना गर्नु ? यो कुरा नमिलेजस्तो देखिन्छ ।

तर, ‘ओप्टा’ले प्रकाशित गरेको तथ्यांकअनुसार रोनाल्डाले ला लिगा छाडेको ३ वर्षा भइसके पनि उनले स्पेनका तीन शीर्ष टोलीविरुद्ध मेस्सीले ला लिगामै रहेर गरेको भन्दा बढी गोल गरेका छन् । मेस्सीले रोनाल्डो हिँडेपछि लगातार ला लिगा खेले पनि शीर्ष तीन टोलीविरुद्ध ३ वर्षको बीचमा मात्रै ४ गोल गरेका छन् । तर, ला लिगा नखेले पनि रोनाल्डोले स्पेनका शीर्ष तीन टोलीविरुद्ध ५ गोल गरेका छन् ।

मेस्सीले २०१८ पछि स्पेनका शीर्ष तीन टोलीमध्ये गरेका ४ वटै गोल ला लिगाकै खेलमा एथ्लेटिको मड्रिडविरुद्ध गरेका हुन् । रोनाल्डो रियल छाडेर हिँडेपछि मेस्सीले रियलविरुद्ध भने ७ खेल खेले पनि न १ गोल गर्न सकेका छन्, न त एक असिस्ट नै । मेस्सीका नाममा बनेको यो निकै खराब रेकर्ड हो । यता, युभेन्टसका रोनाल्डोले भने सोही अवधिमा स्पेनका शीर्ष तीन टोलीविरुद्ध ५ गोल गरेका छन् । फरक यत्ति हो कि, मेस्सीले ला लिगाका खेलमा गरेका हुन् भने रोनाल्डोले सबै गोल च्याम्पियन्स लिगमा गरेका हुन् ।

२०१८ मा रियल छाडेपछि रोनाल्डोले एथ्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा सनसनीपूर्ण ह्याट्रिक गोल गरेका थिए भने मेस्सीकै टिम बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको एकै खेलमा २ गोल गरेका छन् । यसरी हेर्दा लिग प्रतिस्पर्धीविरुद्ध हरेक सिजन कम्तीमा दुईपटक भेट हुने हुने भएकाले मेस्सीले रियल र एथ्लेटिकोविरुद्ध धेरै गोल गर्न सक्थे । तर, उनले ३ वर्षमा एथ्लेटिकोविरुद्ध ६ खेलबाट ४ गोल गरे भने रियलविरुद्ध ७ खेल खेले पनि १ गोल गर्न सकेनन् ।

यता, रोनाल्डोले भने ला लिगाबाहिर रहेर पनि च्याम्पियन्स लिगमा मात्रै ३ खेलबट स्पेनका शीर्ष तीन टोलीविरुद्ध एक ह्याट्रिकसहित ५ गोल गरे । यसबीचमा रोनाल्डोले बार्सिलोना र एथ्लेटिकोविरुद्ध मात्रै खेले, पूर्वक्लब रियलविरुद्ध भने खेल्न पाएनन् ।

प्रकाशित मिति ११ बैशाख २०७८, शनिबार १०:५७
Loading...