नयाँ सम्झौताका लागि बार्सिलोनाले मेस्सीलाई दियो दुई ‘बम्पर अफर’

काठमाडौं, वैशाख ११

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना कप्तान समेत रहेका प्रमुख खेलाडी लिओनल मेस्सीसँग नयाँ सम्झौताका लागि पहिलो प्रस्ताव गरेको छ । स्पेनका खेल पत्रिकाले यसको पुष्टि गर्दै रिपोर्ट प्रकाशित गरेका छन् । क्लबसँग मेस्सीको सम्झौता सकिन दुई महिना मात्रै समय बाँकी रहेको अवस्थामा क्लबले मेस्सीसँग नयाँ सम्झौताका लागि संवाद थालेको हो ।

सन् २००४ देखि बार्सिलोनामा रहँदै आएका मेस्सीसँग सम्झौता यो सिजनको अन्त्यसम्मका लागि मात्रै छ । यो सिजन नसकिँदै उनी र क्लबबीच सम्झौता नवीकरण नभए मेस्सी स्वतः फुकुवा हुनेछन् । र, आफूले चाहेको क्लबमा जान पाउनेछन् । यसको अर्थ यदि बार्सिलोना मेस्सीलाई गुमाउन चाहँदैन भने यो सिजन सकिनुअघि नै नयाँ सम्झौता गरिसक्नुपर्नेछ ।

यो सिजन सुरु हुनुअघि नै मेस्सीले क्लब छाड्ने निर्णय गरेका थिए । तर, आफूले भने जसरी फ्री ट्रान्सफरमा बिदा नपाउने भएपछि उनी बाध्य भएर आफ्नो सम्झौताभर बार्सिलोनामै रहनु परेको थियो । तर, यो सिजन सकिएपछि मेस्सीलाई कुनै पनि कुराले क्लब छाड्नबाट रोक्नेछैन, यदि नयाँ नसकिँदै सम्झौता नभए । यसको अर्थ बार्सिलोनासँग अब मेस्सीलाई सम्झौतामा साइन गराउन मात्रै दुई महिना बाँकी छ ।

नयाँ सम्झौताका लागि बार्सिलोनाद्वरा मेस्सीलाई दुई अफर

स्पेनका चर्चित पत्रिकाहरू ‘स्पोर्ट’, ‘मुन्डो डेपोर्टिभो’ लगायतमा प्रकाशित रिपोर्टअनुसार बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौताका लागि दुई अफर दिएको छ । जसमा सम्झौताको अवधि र उनले पाउने तलब–सुविधासँग सम्बन्धित रहेका छन् । उमेरले चाँडै ३४ वर्ष पुग्न लागेका मेस्सीसँग बार्सिलोना आगामी चार सिजनसम्मका लागि सम्झौताको अफर गरेको छ । यसको अर्थ, क्लब नछाडे मेस्सी आफ्नो उमेर ३८ वर्ष पुग्दासम्म बार्सिलोनाबाटै खेल्न सक्नेछन् ।

बार्सिलोनाको प्रस्तावलाई स्वीकार गरे मेस्सीले सिजन २०२४–२५ सम्म क्याटलान क्लबकै लागि खेल्न पाउनेछन् । यो भनेको निकै लामो अवधि हो । मेस्सीले हालसम्म आफूले कहिलेसम्म खेलाडीका रूपमा फुटबल खेल्न भन्नेबारे बताएका छैनन् । तर, बार्सिलोना उनलाई ३८ वर्षको उमेरसम्म खेलाडीका रूपमा निरन्तरता दिन तयार भएको छ ।

दोस्रो अफर भनेको मेस्सीले पाउने तलब–सुविधा हो । अहिलेकै अवस्थामा पनि मेस्सी फुटब इतिहासकै सर्वाधिक कमाउने खेलाडी हुन् । केही समयअघि बार्सिलोना र मेस्सीबीचको लिक भएको व्यावसायिक सम्झौताका कागजातअनुसर मेस्सीले अहिले एक वर्षमा सबैखाले गरेर कूल १२६ मिलियन युरो पैसा बार्सिलोनाबाट लिने गर्छन् । तर, बढ्दो उमेरका मेस्सीलाई बार्सिलोनाले नयाँ सम्झौताका लागि पनि त्यसैअनुसार पैसा दिन सक्नेछैन । त्यहाँ मेस्सीको तलब घट्ने त पक्का नै छ ।

रिपोर्टअनुसार बार्सिलोनाले मेस्सीसँग नयाँ समझौताका लागि तलब घटाएर अफर गरेको छ, जुन ७५ मिलियन युरो छ । चार वर्ष अवधि र ७५ मिलिलयन युरो तबल–भत्ता दिने गरी बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता गर्न अफर गरेको छ । दुई अफरभित्र एक सर्त के छ भने, मेस्सीको बढ्दो उमेरलाई आधार मानेर हरेक सिजन १० प्रतिशत तलब कटौती गर्दै लगिनेछ । यस सर्तमा बार्सिलोना मेस्सीलाई मनाउन प्रयास गर्नेछ ।

आगामी चार सिजनको अवधि र ७५ मिलियन युरो तलबमा नयाँ सम्झौता हुँदा मेस्सी अझै पनि सर्वाधिक कमाइ गर्ने खेलाडीमा यथावत रहनेछन् । उनीभन्दा पछि इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले तलब र सबैखाले भत्ता तथा बोनसबबात क्लबबाट मात्रै ५२ मिलियन युरो बुझ्ने गरेका छन् । यसमा खेल संख्या, गोल संख्या र ठूला उपाधि जित्दा पाउने बोनस रकम पनि समावेश छ ।

प्रकाशित मिति ११ बैशाख २०७८, शनिबार ०६:५७
Loading...